News Portal

  • माउन्टेन इनर्जीको विद्युत बिक्रीको आम्दानीसँगै नाफा पनि बढ्यो, ईपीएस १७.३४ रुपैयाँ

    आर्थीकसंसार संवाददाता२६ माघ, २०८२
    ८ पटक
    २६ माघ, २०८२

    काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । जस अनुसार यस अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी १४.५८ प्रतिशतले बढेर ९१ करोड ४४ लाख पुगेको छ ।

    अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ७९ करोड ८१ लाख थियो । कम्पनीले ४२ मेगावाटको मिस्ट्री खोला र ५ मेगावाटको तादीखोला आयोजनाबाट नियमित विद्युत उत्पादन गरिरहेको छ ।

    यस अवधिमा कम्पनीको खुद नाफा पनि बढेको छ । कम्पनीको खुद नाफा ५.७४ प्रतिशतले बढेर ५४ करोड १४ लाख पुगेको छ ।  अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ५१ करोड २० लाख रुपैयाँ थियो ।

    यस अवधिमा कम्पनीले बीमा दाबीको ९ लाख रुपैयाँ पनि प्राप्त गरेको छ । कम्पनीको संचालन मुनाफा ६४ करोड ९६ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको ब्याज खर्च १२ करोड ४० लाखबाट घटेर ११ करोड १५ लाख कायम भएको छ ।  कम्पनीको कर अगाडीको नाफा भने ५५  करोड ५८ लाख रहेको छ ।

    यस अवधिमा कम्पनीको चुक्ता पुँजी ३ अर्ब १२ करोड रुपैयाँ रहेको छ । कम्पनीको रिजर्भमा १ अर्ब ३३ करोड रहेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड थियो । कम्पनीले आर्थिक वर्ष २०८१/८२ बाट २० प्रतिशत बोनस सेयर वितरण गरेपछि चुक्ता पुँजी बढेको हो ।

    यस अवधिमा कम्पनीको प्रति सेयर आम्दानी १७.३४ रुपैयाँ रहेको छ । २० प्रतिशतले पुँजी बढ्दा पनि कम्पनीले १७.३४ रुपैयाँको ईपीएस कायम गर्न सफल भएको छ ।  कम्पनीको प्रति सेयर नेटवर्थ १४२ रुपैयाँ ६८ पैसा रहेको छ ।

    प्रतिकृया दिनुहोस्