News Portal

  • प्रभु बैंकबाट अशोक शेरचनको राजीनामा, सीईओ बन्दै शर्मा

    आर्थीकसंसार संवाददाता२० माघ, २०८२
    १३ पटक
    २० माघ, २०८२

    काठमाडौं । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अशोक शेरचनले राजीनामा दिएका छन् । सीईओ शेरचनले दिएको राजीनामा बैंक सञ्चालक समितिको सोमबार (माघ १९ गते) बसेको बैठकले स्वीकृत गरेको कम्पनी सचिव अमित भण्डारीले जानकारी दिए ।

    सन् १९९५ बाट बैंकिङ करिअर सुरु गरेका शेरचन प्रभु बैंकमा तेस्रो पटक सीईओ बनेका थिए । उनले तत्कालीन नेपाल बंगलादेश बैंकबाट बैंकिङ सुरु गरेका थिए । त्यसपछि उनी साविक नेपाल क्रेडिट एण्ड कमर्स बैंकमा प्रवेश गरेका थिए । त्यसपछि सन् २००६ मा प्रभु फाइनान्समा जोडिएका शेरचन फाइनान्सको सीईओ बने ।

    साथै तत्कालीन प्रभु फाइनान्स र प्रभु विकास बैंक मर्ज भएपछि सीईओको जिम्मेवारी शेरचनले नै पाएका थिए । जेनिथ फाइनान्स, गौरीशंकर डेभलपमेन्ट बैंक र किस्ट बैंकलाई प्राप्तिपश्चात पनि शेरचन नै बैंकको सीईओ बने । प्रभु बैंकमा शेरचन सन् २०१४ देखि सीईओको भूमिकामा थिए ।

    शर्मा सीईओ बन्दै 

    बैंकले अर्काे व्यवस्था नभएसम्मका लागि सहायक महाप्रबन्धक निरज लम्साललाई कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ । तर, सञ्चालक समितिले बैंकको आगामी सीईओमा सुमन शर्मालाई अगाडि सारेको छ । स्रोतका अनुसार शर्मालाई बैंककाे सीईओ बनाउने गरी प्रक्रिया अघि बढिसकेको छ ।

    शर्मा साबिक सनराइज बैंकका सीईओ थिए । लक्ष्मी बैंकसँग मर्जरमा गएपछि शर्मा बाहिरिएका थिए । त्यसअघि माछापुच्छ्रे  बैंकको सीईओका रूपमा काम गरिसकेका शर्मासँग ग्लोबल आइएमई बैंक, एनएमबि बैंक, नेपाल एसबीआई बैंक लगायतका संस्थामा काम गरेको अनुभव छ । बैंक वित्तीय क्षेत्रमा तीन दशकको अनुभवी शर्मा कुशल व्यवस्थापक हुन् । साथै कर्जा व्यवस्थापन तथा जोखिम व्यवस्थापनमा उच्च ज्ञान भएका बैंकरका रूपमा समेत शर्मा परिचित छन् ।

    एमबीएको गोल्ड मेडलिस्ट समेत रहेका शर्मा नेदरल्याण्डबाट वित्त तथा लेखा विषयमा स्नातकोत्तर गरेका छन् भने उनले अर्थशास्त्र र भौतिकशास्त्र विषयमा स्नातकोत्तर पनि हासिल गरेका छन् ।

    प्रतिकृया दिनुहोस्