२२ पुस, २०८२काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काभ्रेको धुलिखेलस्थित श्री सञ्जीवनी माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टि सम्बन्धी अपाङ्गता भएका विद्यार्थीहरूलाई ब्रेल शैक्षिक सामग्री वितरण गरेको छ ।
उक्त सामग्री सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक बलराम खत्री र एरिया म्यानेजर सनी खाछें श्रेष्ठको उपस्थितिमा विद्यालयलाई हस्तान्तरण गरिएको हो । हाल उक्त विद्यालयमा २८ जना दृष्टिविहीन विद्यार्थी अध्ययनरत छन् ।
ब्रेल शैक्षिक सामग्रीले नेत्रहीन विद्यार्थीलाई स्वतन्त्र रूपमा पढ्न र सिक्न सहयोग गर्ने तथा समान शैक्षिक अवसर सुनिश्चित गर्दै समावेशी शिक्षालाई प्रवर्द्धन गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ । यसले विद्यार्थीलाई भविष्यमा उच्च शिक्षा र रोजगारीका अवसरतर्फ अघि बढ्न सहयोग पुर्याउने कम्पनीको भनाइ छ ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा विपद् व्यवस्थापनजस्ता क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै समाजप्रतिको उत्तरदायित्वलाई आत्मसात् गर्ने जनाएको छ । नाफामुखी व्यवसायसँगै सामाजिक हितलाई समान रूपमा अघि बढाउने प्रतिबद्धता कम्पनीले दोहोर्याएको छ ।
हाल सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले देशभर १६९ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ । कम्पनीको पूँजी ५ अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने २० अर्ब रुपैयाँभन्दा बढीको लगानी भइसकेको छ । साथै, २० हजारभन्दा बढी अभिकर्ता कम्पनीमा कार्यरत रहेका छन् ।


