News Portal

  • बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरण नेपालीमा सार्वजनिक गर्ने्

    आर्थीकसंसार संवाददाता२ माघ, २०७७
    ६८८ पटक
    २ माघ, २०७७

    काठमाडौं । नेपाल बैंकर्स संघका उपाध्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायले बैंक तथा वित्तीय संस्थाहरुले नेपाली भाषामा वित्तीय विवरण सार्वजनिक गर्ने तयारी भइरहेको बताएका छन् ।
    नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्डले (एनएफआरएस)सम्बन्धी आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपालीमा भाषामा वित्तीय विवरण सार्वजनिक गर्दा सबैले बुझिने हुँदा त्यसको तयारी भइरहेका बताएका हुन् ।
    सीईओ उपाध्यायले बैंक तथा वित्तीय संस्थाले सर्वसाधारण नेपाली तथा लगानीकर्ताले सजिलै बुझने प्रणालीमा वित्तीय विवरण सार्वजनिक गर्न आवश्यक रहेको औंल्याए । उनले सर्वसाधारण लगानीकर्ताले बुझ्ने गरी वित्तीय विवरण सरल र नेपाली भाषामा प्रकाशन गर्न बैंकरहरुबीच छलफल सुरु भएको र संघमा औपचारिक रुपमा अघि बढाउने जानकारी दिए ।
    यसअघि बैंकहरुले प्रकाशन गर्ने वित्तीय विवरण आफ्नो व्यवसायिक अवस्था राम्रो रहेको मात्र देखाउन प्रकाश गर्ने गरेको तर एनएफआरएस लागु भएपछि बैंकहरुले संस्थाको व्यवस्थापकीय हिसाबलाई प्राथमिकतामा राख्ने उनको भनाई छ । आगामी दिनमा नाफिजसँगको सहकार्यमा संघले आर्थिक पत्रकारको क्षमता तथा सीप विकासका लागि तालीम, गोष्ठी तथा सेमिनार आयोजना गर्ने प्रतिबद्धता जनाए ।
    नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स संघसँगको सहकार्यमा नाफिजले आर्थिक पत्रकारको बैंकिङ समाचार लेख्ने क्षमता विकास गर्न सो तालिम आयोजना गरेको हो ।
    तालीममा ३० जनाभन्दा बढी आर्थिक पत्रकार सहभागी थिए, जहाँ नेपाल राष्ट्र बैंक नियमन विभागका सहायक निर्देशक सुजन खनाल, स्ट्यान्डर्ड चार्डर्ट बैंकका लेखानियन्त्रक सुरज लामिछाने र वरिष्ठ आर्थिक पत्रकार यज्ञ बञ्जाडेले प्रशिक्षण दिएका थिए । तालीममा एनएफआरएसको पृष्ठभूमि, उपयोगीता र चुनौतीका बारेमा प्रकाश पारिएको थियो ।

    प्रतिकृया दिनुहोस्