News Portal

  • महिला सशक्तीकरणको उदाहरण बन्दै एशियन लाईफ इन्स्योरेन्स

    आर्थीकसंसार संवाददाता२८ मंसिर, २०८२
    १३ पटक
    २८ मंसिर, २०८२

    काठमाडौं । नेपालको बीमा क्षेत्र आज केवल वित्तीय सेवा प्रदायक मात्र होइन, सामाजिक रूपान्तरणको महत्वपूर्ण माध्यम बन्दै गएको छ। यही परिवर्तनको यात्रामा एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले महिलाको सहभागिता र नेतृत्व विकासलाई केन्द्रमा राखेर आफ्नो विशिष्ट पहिचान निर्माण गरिरहेको छ।

    एशियन लाईफ इन्स्योरेन्समा महिलाको भूमिका नारा वा औपचारिकतामा सीमित छैन। १७ औँ वार्षिक प्रतिवेदनमा उल्लेख भए अनुसार, एशियन लाईफमा कार्यरत जनशक्तिमध्ये ३५ प्रतिशत जनशक्ति महिला छन् । यो सहभागिता कम्पनीको मानव संशाधन नीति र समावेशी व्यवस्थापन संस्कृतिको प्रत्यक्ष परिणाम हो। यो नेपाली बीमा कम्पनीहरूमा रहेको महिला सहभागिताको औसत भन्दा बढी हो।

    एशियन लाईफ इन्स्योरेन्सले महिलालाई अवसर मात्र होइन, नेतृत्व पनि दिएको छ। कम्पनीको वेबसाइटमा प्रकाशित विवरण अनुसार, केन्द्रीय कार्यालयमा प्रमुख विभागहरूमध्ये ५ वटा विभागमा महिला कर्मचारी नै विभाग प्रमुखको जिम्मेवारीमा छन्।

    महिला नेतृत्व रहेका प्रमुख विभागहरूः

    १) कर्मचारी प्रशासन विभाग

    २) आन्तरिक लेखा परिक्षण विभाग

    ३) सूचना प्रविधि (आईटी) विभाग

    ४) बीमालेख सेवा विभाग

    ५) ऋण असुली विभाग

    यी विभागहरू कम्पनीको सुशासन, प्रविधि, सेवा गुणस्तर र जोखिम व्यवस्थापनसँग प्रत्यक्ष जोडिएका छन्। नेतृत्वमा रहेका यी महिला कर्मचारीहरूको कार्य अनुभव र शैक्षिक पृष्ठभूमी केलाउँदा उनीहरू दुबै हिसाबले परिपक्व देखिन्छन् । शैक्षिक पृष्ठभूमी हेर्दा उनीहरूमध्ये केहीसँग दुईवटा फरक फरक विषयमा स्नातकोत्तर तह सम्मको शैक्षिक योग्यता छ। यसबाहेक कार्य अनुभवका हिसाबले पनि उनीहरूसँग महत्वपूर्ण विभागहरूमा १० देखि १५ वर्ष काम गरेको पर्याप्त अनुभव देखिन्छ।

    उनीहरू अधिकांश एशियन लाइफ इन्स्योरेन्सकै पुराना कर्मचारी भएकाले कम्पनीले बाहिरी जनशक्ति भित्र्याउँने भन्दा पनि संस्थाभित्रैबाट नेतृत्व क्षमता विकास गर्ने नीति लिएको देखिन्छ। यसबाहेक बीमा कम्पनीको महत्वपूर्ण विभागहरूमा महिला नेतृत्व हुनु कम्पनीको क्षमता आधारित र भविष्य केन्द्रित सोचको स्पष्ट प्रमाण हो।

    महिला नेतृत्वले थपेको संस्थागत मजबुतीः

    महिला नेतृत्वले निर्णय प्रकृयामा सन्तुलन, पारदर्शिता र उत्तरदायीत्वलाई बलियो पनि बनाएको छ। सेवा प्रवाहदेखि आन्तरिक नियन्त्रण प्रणालीसम्म महिलाको सक्रिय भूमिकाले एशियन लाइफलाई अझ विश्वसनीय र दिगो संस्था बनाउन सहयोग पुर्‍याइरहेको अनुमान गर्न सकिन्छ।

    सामाजिक उत्तरदायित्व र दिगो प्रतिबद्धताः

    महिलाको सशक्तिकरण एशियन लाइफ इन्स्योरेन्सको सामाजिक उत्तरदायित्वको महत्वपूर्ण अङ्ग बनेको देखिन्छ। रोजगारी, आयआर्जन र नेतृत्व विकासका अवसर प्रदान गरेर कम्पनीले केवल आफ्ना कर्मचारी र अभिकर्तालाई मात्र होइन, उनीहरूको परिवार र समुदायलाई पनि आर्थिक रूपमा सबल बनाउन योगदान पुर्‍याइरहेको छ।

    भरोसायोग्य बीमा, समावेशी भविष्यः

    आज एशियन लाइफ इन्स्योरेन्स महिला सहभागिता र नेतृत्व विकासमा उदाहरणीय अभ्यास प्रस्तुत गर्दै नेपाली बीमा क्षेत्रमै फरक पहिचान बनाउँदै अघि बढिरहेको छ।
    समावेशी सोच, सक्षम मानव संसाधन र दीर्घकालीन दृष्टिसहित एशियन लाइफ भविष्यको सुरक्षामा भरोसायोग्य साझेदार बनेको छ।

    प्रतिकृया दिनुहोस्