२३ मंसिर, २०८२काठमाडौं । चेम्बर अफ कमर्स तथा उद्योग व्यापार सङ्गठन, रुपन्देहीको आयोजनामा भैरहवामा सञ्चालित सातौँ लुम्बिनी महोत्सव सम्पन्न भएको छ । उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।
‘स्थानीय बजारमा खरिद गरौँ, स्थानीय बजारको प्रवर्द्धन गरौँ, स्वदेशी वस्तुको प्रयोग गरौँ, स्वाभिमानी नेपालीको पहिचान बनाऔँ’ भन्ने मूल नाराका साथ यही मङ्सिर ३ देखि सिद्धार्थनगर नगरपालिका-८ स्थित अञ्चलपुरमा सञ्चालित महोत्सव मङ्सिर २१ गते समापन भएको हो ।
महोत्सवमा करिब १२ करोड रुपैयाँ बराबरको कारोबार भएको जिल्लास्थित चेम्बर अफ कमर्सका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक सचिन रोक्काले जानकारी दिए । उनका अनुसार महोत्सव १ लाख २० हजार दर्शकले अवलोकन गरेका छन् । संयोजक सचिन रोक्काले आगामी दिनमा यस्ता महोत्सव सरकारले स्वामित्व लिएर आयोजना गर्नुपर्नेमा जोड दिँदै त्यसमा निजी क्षेत्र सहभागी हुने बताए ।
‘महोत्सव सञ्चालनका लागि ठूलो रकम अस्थायी संरचना निर्माणमा खर्चिनुपर्ने बाध्यता छ । स्थायी संरचना निर्माणमा सरकारले ध्यान दिनुपर्छ,’ उनले भने ।
अध्यक्ष रोक्काले भारतीय पर्यटकको सङ्ख्या बढाउन र धेरै खर्च गर्ने वातावरण बनाउन कम्तीमा १० लाख भारु रुपैयाँ लिएर नेपालमा आउन दिनुपर्ने माग गरे ।


