News Portal

  • आईएमई लाइफ इन्स्योरेन्सको एएमएल र सीएफटीसम्बन्धी तालिम सम्पन्न

    आर्थीकसंसार संवाददाता८ कार्तिक, २०८२
    १९ पटक
    ८ कार्तिक, २०८२

    काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण (एएमएल) तथा आतंककारी गतिविधि र आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण (सीएफटी) सम्बन्धी उच्चस्तरीय तालिम सम्पन्न गरेको छ ।

    तालिममा नेपालमा लागू हुँदै आएका एएमएल/सीएफटी सम्बन्धी ऐन, नियम तथा नियमनकारी निकायका निर्देशनका प्रमुख प्रावधानबारे विस्तृत जानकारी दिएको कम्पनीले जनाएको छ ।

    तालिममा हालसालै नियमनकारी निकायबाट सार्वजनिक गरिएको नयाँ व्यवस्था तथा अद्यावधिक कानूनी दायित्वसमेत समेटिएको थियो ।

    सो अवसरमा विशेषज्ञहरूले बीमा क्षेत्रकै लागि लागू हुने एएमएल/सीएफटी जोखिम व्यवस्थापन, आन्तरिक नियन्त्रण प्रणाली तथा रिपोर्टिङ मेकानिजमबारे व्यावहारिक प्रशिक्षण प्रदान गरेका थिए ।

    कार्यक्रममा बोल्दै सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालले सम्पत्ति शुद्धीकरण निवारणमा व्यवस्थापनदेखि कर्मचारी तहसम्म सबैको समान जिम्मेवारी रहने उल्लेख गर्दै कानुनको प्रभावकारी पालना कम्पनीको सुशासन, पारदर्शिता तथा ग्राहक–लगानीकर्ताको विश्वास बढाउने मुख्य आधार रहेको बताए ।

    त्यसैगरी, कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवनकुमार खड्काले सम्पूर्ण व्यवस्थापक तथा विभागीय प्रमुखलाई एएमएलरसीएफटी अन्तर्गतका कानूनी प्रावधान कडाइका साथ पालना गर्न निर्देशन दिँदै यसले कम्पनीको जोखिम नियन्त्रण, विश्वसनीयता र अन्तर्राष्ट्रिय मान्यतामा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे ।

    प्रतिकृया दिनुहोस्