News Portal

  • चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा पन्तलाई सिफारिस गर्ने निर्णय सर्वसम्मतले पारित

    आर्थीकसंसार संवाददाता७ कार्तिक, २०८२
    १५ पटक
    ७ कार्तिक, २०८२

    काठमाडौं । निर्माण सामग्री (हार्डवेयर) व्यवसायी संघ चितवनको विस्तारित बैठक सम्पन्न भएको छ । बैठकमा संघका पदाधिकारी, सल्लाहकार र सदस्यहरूको उपस्थितिमा चितवन उद्योग वाणिज्य संघको आगामी अधिवेशनका लागि अध्यक्ष पदका लागि युवा व्यवसायी सिरीष पन्तलाई सर्वसम्मत सिफारिस गर्ने निर्णय पारित भएको छ ।

    बैठकले पन्तलाई व्यवसायिक समस्यामा नजिकको दृष्टिकोण, निष्पक्षता, स्पष्ट कार्ययोजना र व्यवसायमैत्री नेतृत्व क्षमता भएको आधारमा योग्य उम्मेदवार ठहर गरेको छ । संघका अध्यक्ष नरहरी घिमिरेले पन्तलाई केवल उम्मेदवार नभई परिवर्तनको नेतृत्व गर्न सक्ने, परिणाममुखी र व्यवसायीको हित सर्वोपरि राख्ने नेतृत्व भएको बताएका छन् ।

    वर्तमान परिस्थितिमा योग्य नेतृत्व रोज्ने महत्त्वपूर्ण समय आएको संघले बैठकमा उल्लेख गरेको छ । संस्थाको भविष्य, व्यवसायीको सुरक्षा, पारदर्शिता, व्यावसायिक सहजता र दीर्घकालीन विकास जस्ता विषयहरू यही निर्णयले निर्धारण गर्ने भएकाले सबै उद्योगी व्यवसायीलाई जिम्मेवार मत प्रयोग गर्न अपिल गरिएको छ ।

    सिरीष पन्तले आफ्नो सेवा र परिणाममा विश्वास राख्ने युवा नेताको रूपमा आफूलाई प्रस्तुत गरेका छन्। संघको निष्कर्ष अनुसार उनी व्यक्तिगत स्वार्थमा नझुक्ने, दबाबमा नआउने र सबै पक्षलाई समेटेर अघि बढ्न सक्षम नेतृत्वकर्ता हुन् ।

    निर्माण सामग्री व्यवसायीहरूको साझा आकांक्षा, चितवनको व्यापारिक संरचना सुदृढीकरण, युवा ऊर्जाको प्रतिनिधित्व र आधुनिक संस्थागत रूपान्तरणको यात्रामा सिरीष पन्त नै सबैभन्दा योग्य, सक्षम र विश्वसनीय विकल्प भएको संघले सबैको समक्ष राखेको छ ।

    संघले सबै उद्योगी व्यवसायीलाई निष्पक्ष, निर्भय र जिम्मेवार भएर सिरीष पन्तलाई आफ्नो बहुमूल्य मत दिन अपिल गरेको छ ।

    प्रतिकृया दिनुहोस्