२९ कार्तिक, २०८२काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले आर्थिक वर्ष २०८२।८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । वित्तीय विवरणअनुसार कम्पनीको अधिकांश सूचकमा गिरावट देखिएको छ ।
कम्पनी पहिलो त्रैमासमा ९ करोड ९५ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १५ करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
चालु आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीको शेयर पुँजी २६ करोड ६६ लाख रुपैयाँ रहेको छ । कम्पनीको स्पेसल रिजर्भमा ३ अर्ब १५ करोड ३५ लाख रुपैयाँ रहेको छ । रिटेन्ड अर्निङमा २ अर्ब ३७ करोड ५८ लाख रुपैयाँ रहेको छ । अन्य इक्विटीमा १० अर्ब ५६ करोड रहेको छ ।
अघिल्लो वर्ष असार मसान्तसम्ममा स्पेसल रिजर्भमा ३ अर्ब १५ करोड ३५ लाख रुपैयाँ थियो । रिटेन्ड अर्निङमा २ अर्ब ४७ करोड रुपैयाँ थियो । अन्य इक्विटीमा भने १० अर्ब ७० करोड रुपैयाँ रहेको छ।
समीक्षा अवधिमा कम्पनीले २२ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ६३ करोड ४६ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन ६४ प्रतिशतले घटेको हो ।
समीक्षा वर्षमा कम्पनीले ३ करोड ८० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा खुद बीमाशुल्क आर्जन पनि ७९% घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १८ करोड ७७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।
समीक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत १८ करोड ६१ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ४४ करोड ६९ लाख रुपैयाँ खर्चिएको थियो ।
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) ऋणात्मक ३७ रुपैयाँ ३२ पैसा छ। कम्पनीको प्रतिशेयर नेटवर्थ ६४०१ रुपैयाँ ८४ पैसा रहेको छ।




