२८ कार्तिक, २०८२काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) का अध्यक्ष उपेन्द्र पौड्यालले कर्जाका नीतिगत व्यवस्था र सेवा शुल्कमा पुनरावलोकन हुनुपर्ने माग गरेका छन् । शुक्रबार सिबिफिनको छैठौं साधारणसभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘बैंकको मुख्य आम्दानी खुद ब्याज आम्दानी रहेको बताउँदै उनदे अब यसको पुनरावलोकन गर्नु पर्ने धारणा राखे । यस्तै, बैंकको आम्दानीका मोडल विविधीकरण गर्नुपर्ने आवश्यकता रहेको पनि उनले सुनाए ।
‘निर्देशनात्मक कर्जा नीति पनि पुनरावलोकन गर्नुपर्ने आवश्यकता छ, लचिलो तथा समावेशी नीति अगाडि सार्न पनि माग गर्दर्छां,’ उनले भने, नेपालका बैंक तथा वित्तीय संस्था सेवाग्राहीप्रति प्रतिबद्ध छन् ।’
कार्यक्रममा उनले साना तथा मझौला उद्यमलाई रोजगारी सिर्जना गर्न, उद्यमशिलताको विकास र बैंकिङ क्षेत्रको ज्ञान अर्थतन्त्रको विकासमा हुनु पर्नेमा जोड दिए ।
‘हामी दीगो बैंकिङप्रति प्रतिबद्ध छौं, नीतिगत प्रोत्साहनका कार्यक्रम ल्याउन माग गर्दछौं, अर्थतन्त्रको मेरुदण्ड बैंकिङ क्षेत्र हो । निजी क्षेत्रको योगदान ८० प्रतिशतभन्दा बढी छ । तर, त्यसमा बैंकको योगदानो विषयमा चर्चा हुँदैन, उद्यमशिलता र वित्तीय क्षेत्रको सुदृढता गर्न हातेमालो गर्न आवश्यक छ,’ उनले भने ।
यस्तै, देश ग्रे लिष्टमा पर्नु चिन्ताको विषय रहेको उल्लेख गर्दै अब त्यसबाट बाहिर निस्कनका लागि सिबिफिन विभिन्न निकायसँग हातेमालो गर्न तयार रहेको सुनाए ।
‘अर्थतन्त्रमा समस्या देखिए पनि समाधानको तत्परता देखिएको छैन । अब हाम्रै बलबुतामा चुनौती न्यूनीकरण गर्नुपर्छ । त्यसका लागि सरोकारवालासँग आपसी विश्वास र समन्वय आवश्यक छ । मुलुकलाई लगानीको हबका रुपमा विकास गर्न सकिन्छ,’ कार्यक्रममा उनले भने ।




