१९ कार्तिक, २०८२काठमाडौं । एनआईसी एशिया बैंकले एक दशकपछि परिपक्व नेतृत्व पाएको छ । कात्तिक १७ गते बैंक सञ्चालक समितिले सुजित शाक्यलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने निर्णय लिएको छ । शाक्यले मंसिर १७ गतेदेखि जिम्मेवारी समाल्ने छन् । आगामी चार वर्षका लागि शाक्यलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको बैंकले जनाएको छ ।
नजिकबाट नियाल्नेहरू सुजित शाक्यलाई राम्रो बैंकर्स मान्दछन् । शाक्यले हिमालयन बैंक, तत्कालीन लक्ष्मी बैंक, तत्कालिन बैंक अफ एशिया नेपाल, एनआईसी एसिया बैंक, तत्कालिन सिभिल बैंक, तत्कालिन जनता बैंक, ग्लोबल आइएमई बैंक र नबिल बैंकमा गरी ३ दशक काम गरेका छन् ।
नबिल बैंकका तत्कालीन अध्यक्ष शम्भु पौडेल र सञ्चालक उपेन्द्र पौडेल (हाल अध्यक्ष) ले सुजितलाई अनिल शाहको कार्यकालपछि प्रमुख कार्यकारी अधिकृत बनाउन सकिने आश्वासनसहित नबिल भित्र्याएका थिए । नबिलले नेपाल बंगलादेश बैंक प्राप्तिसँगै अनिल शाहले अवकाश पाए । मर्जपछि नेपाल बंगलादेश बैंकबाट अवकाश भएका ज्ञानेन्द्रप्रसाद ढुंगाना नबिलको प्रमुख कार्यकारी अधिकृत बने । ढुंगानाको बर्हिगमनपछि मनोज ज्ञवालीले बाजी मारे । शाक्य निरास बने ।
नयाँ अवसरको खोजीमा रहेका शाक्यलाई एनआईसी एशियाले भित्र्याएको छ । तर, शाक्यका लागि नयाँ जिम्मेवारी निकै कठिन हो । बैंकको खस्कदो व्यापारमा सुधार ल्याउनु, नियामकीय निर्देशनहरुको परिपालना गर्नु, ग्राहक माझ बढ्दो असन्तुष्टि कम गर्दै बैंकको छवि सुधार गर्नु र लगानीकर्तालाई उचित प्रतिफल दिनु उनका प्रमुख कार्य हुनेछन् । बैंकभन्दा एनआईसी एशियालाई राम्रो बनाउने शाक्यलाई एक कार्यकालको समय अपुग नै हुनेछ ।
सशीनको विरासत
वि.सं २०५५ सालमा स्थापना भएको तत्कालीन एनआईसी पाँच वर्ष पूरा गर्दै थियो । नयाँ बैंक भएकाले पुरानासँगको प्रतिस्पर्धामा पछाडी मात्र थिएन, बैंक रुग्ण पनि थियो । २०६० सालमा यस बैंकको प्रमुख कार्यकारी अधिकृत भए सशीन जोशी । जोशीले यस बैंकमा १२ वर्ष प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाले ।
२०७० असारमा बैंक अफ एशिया गाभिएपछि एनआईसी एशिया बैंकमा रुपान्तरित भयो । दुई वाणिज्य बैंकबीचको पहिलो मर्जरलाई सफल बनाउने कार्यमा पनि जोशीले सफलता हासिल गरे । जोशीको नेतृत्वमा एनआईसी एशिया बैंक ठूलो मात्र भएन, सशक्त बैंक बन्यो । सोही बैंकमा गरेको कर्मले जोशीलाई काबिल बैंकर्सको परिचय पनि दियो ।
वि.सं २०७२ जेठमा जोशीको कार्यकाल सकियो । त्यसपछि २०७४ फागुनसम्म लक्ष्मण रिसाल प्रमुख कार्यकारी अधिकृत भए । बैंकले रिसाललाई २ वर्ष अवधिको लागि नियुक्ती दिएको थियो । सञ्चालक समितिले कार्यकाल थप नगर्ने जनाउँ दिएपछि २ वर्षे कार्यकाल पनि पूरा नहुँदै रिसालले पदबाट राजीनामा दिएका थिए । उनले बैंकमा दूरगामी प्रभाव छोड्न सकेनन् ।
९ महिना कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिसकेका रोशन कुमार न्यौपानेलाई बैंकले २०७५ मंसिरमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्यो । न्यौपानेको नेतृत्वमा एनआईसी एशिया बैंकले बैकिङ क्षेत्रमा उत्पात मच्चायो । परम्परागत र दीगो बैकिङ छोडेर एनआईसी एशिया मर्डन र एग्रेसिभ मूभमा गयो ।
आक्रामक बन्दाको परिणाम
तथ्यसिद्ध विषय के छ भने नारायणदास मानन्धर जस्ता परम्परागत बैकिङ अभ्यासलाई जोड दिने बैंकर्स सफल भए । तर, आक्रामक बैकिङ गर्ने कमल ज्ञवाली, रोशन न्यौपानेहरु असफल भए ।
नेपालमा आक्रामक बैकिङमा होमिनेहरु कि थला परेका छन् कि पतन भएका छन् । आक्रामक बैकिङ अभ्यास गर्दा किष्ट बैंक पतन भएको सम्झना पूराना बैंकर्सलाई छ । किष्टकै शैली पछ्याउँदा एनआईसी एशिया अहिले थला परेको छ ।
आर्थिक वर्ष २०७७/७८ मा नेपालको वित्त बजारमा निक्षेप र कर्जा विस्तार ऐतिहासिक रुपमा उच्च रह्यो । उक्त वर्ष नेपालमा औसतमा निक्षेप वृद्धि २० प्रतिशतले र कर्जाको वृद्धि २८ प्रतिशतले भएको थियो । त्यस वर्ष एनआईसी एशिया बैंकको निक्षेप ४३ प्रतिशतले र कर्जा ५२ प्रतिशतले वृद्धि भयो । त्यतिबेला बैंक कति धेरै आक्रामक थियो भन्ने तथ्य यसले देखाउँछ ।
एक वर्ष मात्र होइन, ६ वर्षसम्म यस बैंकको ग्रोथ अरु बैंकको भन्दा माथि थियो । २०७५ देखि २०८१ सम्ममा बैंकको निक्षेप १३४ प्रतिशतले वृद्धि भयो । सो अवधिमा कर्जा लगानी १३७ प्रतिशतले वृद्धि भयो । कुल सम्पत्ति १४१ प्रतिशतले वृद्धि भयो ।
जुन वर्ष (आर्थिक वर्ष २०७७/७८) बैंकले उच्च अंकमा व्यापार वृद्धि गर्यो, सोही वर्ष बैंकले सेयरधनीलाई दिने लाभांश शून्यमा झर्यो । त्यसअघिका वर्षहरुमा बैंकले सेयरधनीलाई नियमित लाभांश खुवाएको थियो । मर्जपछिका केही वर्ष सेयरधनीलाई लाभांश खुवाउन नसकिने नजिर धेरै बैंकले सेट गरेका छन् । तर, एनआईसी एशियाले नियमित सेयरधनीलाई लाभांश खुवाउँदै आएको थियो । आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा क्रमशः २१ प्रतिशत र २० प्रतिशतका दरले लाभांश खुवाएको थियो ।
आर्थिक वर्ष २०७७/७८ मा एनआईसी एशियाले ३ अर्ब २५ करोड नाफा गरेको वित्तीय विवरण सार्वजनिक गरे पनि नियामकीय मापदण्ड उल्लंघन गरेको भन्दै नेपाल राष्ट्र बैंकले सेयरधनीलाई लाभांश वितरण गर्न रोक लगायो । त्यसपछिका ६ आर्थिक वर्षमध्ये एक पटक मात्र बैंकले सेयरधनीलाई लाभांश खुवाउन सकेको छ ।
लाभांश शून्यमा झर्नुमात्र यस बैंकको पीडा होइन । पछिल्ला वर्ष बैंकको व्यापार पनि संकुचित भएको छ । २०८१ असार मसान्तमा ३५४ अर्ब निक्षेप पुगेकोमा २०८२ असारमा ३१९ अर्बमा झरेको छ । कर्जा पनि २८५ अर्बबाट घटेर २२४ अर्बमा झरेको छ । एक वर्षमा बैंकको निक्षेप करिब ३५ अर्ब रुपैयाँले र कर्जा करिव ६१ अर्बले घटेको छ । एक वर्षमा निक्षेप करिब १० प्रतिशतले झर्दा र कर्जा २१ प्रतिशतले झर्दा बैंकको नाफामा पनि ठूलो असर देखिएको छ । आर्थिक वर्ष २०७९/८० मा ४ अर्ब ४४ करोड नाफा गरेको बैंकले आर्थिक वर्ष २०८१/८२ मा जम्मा १६ करोड रुपैयाँ नाफा गरेको छ ।
एकातिर प्रकाशित वित्तिय विवरणहरुले बैंक थला परेको देखिन्छ भने अर्कोतिर यस बैंकमाथि राष्ट्र बैंकले गरेका सिलसिलेबार कारवाहीहरु, ऋण असुलीका लागि बैंकले प्रकाशित गरेको सूचनाहरु, अदालतमा थुप्रिदै गएका बैंक र ऋणीबीच विवादका मुद्दाहरु, बैंकका कर्मचारीहरुले उच्च व्यवस्थापनप्रति व्यक्त गरेको असन्तोषहरुको अगणितिय समस्याका चाङ धेरै ठूलो देखिन्छ ।
७० को दशकमा बैंकले लिएको कर्जा नीतिको असफलताको परिणाम बैंकले ८० को दशकमा भोग्न थालेको छ । ७० को दशकमा बैंकले शाखा विस्तारबारे लिएको नीति र लगत्तै प्रविधिमा आएको परिवर्तन तथा डिजिटल बैकिङ अभ्यासले मारेको फड्कोले बैंकलाई पारेको प्रतिकूल असरसँग बैंकले बल्ल अनुभूति गर्दैछ । ३६० शाखा, ६७० वटा एटीएम, ११५ वटा काउन्ट अफिस, ३ हजार ५०० भन्दा बढी कर्मचारीले बैंकको सञ्चालन खर्च उच्च बिन्दुमा पुर्याएको छ ।
राष्ट्र बैंकको दबावमा ग्रामिण क्षेत्रमा खुलेका शाखाहरुले गरिरहेको संचित घाटाले मुख्यालयको नाफा घटाइरहेको छ । बैंकका बारेमा बढ्दो नेगेटिभिटीको असरले बैंकको निक्षेप कर्जामा संकूचन बढेको छ । आम्दानी र खर्चबीच सन्तुलन गर्न बैंकलाई कठिन हुँदै गएको तथ्याङ्कले देखाउँदैछ ।
कुनै पनि बैंकका लागि ग्राहक, कर्मचारी, सेयरधनी र नियामक मुख्य हिस्सेदार हुन् । यी सबै पक्षमा बढ्दो असन्तुष्टि एनआईसी एशिया बैंकका लागि धेरै गम्भीर विषय हो । बैंकको नियमित सञ्चालनमा सञ्चालक समितिको अदृष्य संलग्तादेखि स्वीफ्ट ह्याक जस्ता बैंक अप्रेशनमा भएका गढबढीको समाचारहरूले पनि बैंकको छवि धमिलो बनाउँदै लगेको छ । यी सबै समस्या सुल्झाउदै बैंकलाई लयमा ल्याउन नयाँ प्रमुख कार्यकारी अधिकृत शुजित शाक्यलाई निक्कै कठिन हुनेछ ।




