
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र पुरानो बानेश्वरस्थित मातृका आँखा उपचार केन्द्रबीच निःशुल्क मोतिबिन्दु शल्यक्रिया कार्यक्रम सञ्चालन गर्न सम्झौता भएको छ ।
सम्झौताअनुसार मातृका आँखा उपचार केन्द्रले आँखा जाँच, भिजन स्क्रिनिङ, उपचार तथा विशेषज्ञ टोलीमार्फत निःशुल्क मोतिबिन्दु शल्यक्रिया उपलब्ध गराउनेछ । साथै शल्यक्रिया गर्नुपर्ने बिरामीलाई आवश्यक औषधि, इन्ट्राअक्युलर लेन्स (आईओएल), एनेस्थेटिक औषधि र शल्यपूर्व परीक्षणहरू समेत निःशुल्क प्रदान गरिनेछ ।
कार्यक्रमअन्तर्गत काठमाडौं महानगरपालिका वडा नं. १८ मार्फत छानिएका ५० जना बिरामीहरूको मोतिबिन्दु शल्यक्रिया असोज २४ गते मातृका आँखा उपचार केन्द्रमा सञ्चालन गरिनेछ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्रीले सम्झौतामार्फत समुदायमा स्वास्थ्य सेवा पहुँच विस्तारमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।
उनले सलिकोले यस्ता सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमलाई भविष्यमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाए ।
सम्झौता हस्ताक्षर कार्यक्रममा सलिकोकी नायव प्रमुख कार्यकारी अधिकृत बरिष्मा साउद आचार्य, कार्यकारी व्यवस्थापन समूहका कर्मचारी, मातृका आँखा उपचार केन्द्रका अध्यक्ष सुरज श्रेष्ठ र प्रशासकीय अधिकृत कल्याण ढुंगाना उपस्थित थिए ।