
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टी र राजकीय जिम्मेवारी निर्वाह गर्ने क्रममा भएका आफ्नो हिस्साका गल्ती, कमजोरी र भूलहरुप्रति क्षमा याचना गरेका छन् । संविधान दिवसका अवसरमा दिएको सन्देशमा पौडेलले विगतमा एमालेले लिएका निर्णय, गरेका काम र तिनको परिणामका सम्बन्धमा गम्भीर समीक्षा हुने भन्दै युवा शक्तिको निर्णायक योगदान रहेको गतिशील र परिवर्तनको संवाहक शक्तिको भूमिकामा पार्टीलाई स्थापित गर्ने जिम्मेवारी आएको बताए ।
उनले जेनजी आन्दोलनका सहिदहरुप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजन तथा आफन्तहरूमा समवेदना र घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरे । प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गठित मन्त्री परिषदबाट शान्ति र अमन चैन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने, जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएका सार्वजनिक र निजीक्षेत्रका संरचनाहरूको पुन निर्माण गर्ने र तोकिएको मितिमा प्रतिनिधि सभाको निर्वाचन गर्ने अपेक्षा रहेको उनको भनाइ छ ।
जेनजी आन्दोलनको क्रममा भएको हिंसा, हत्या, तोडफोड र आगजनीको निष्पक्ष छानबिन गर्न, दोषीहरुलाई कानुन बमोजिम कारवाही गर्न र क्षतिग्रस्त सार्वजनिक तथा निजी संरचनाहरूको यथाशीघ्र पुनर्निर्माण गर्न उनले सरकारसँग माग राखे ।
उनका अनुसार जनताको, विशेषगरी युवा पुस्ताको आकांक्षा, असन्तुष्टि र आक्रोशलाई बुझ्न र सम्वोधन गर्न नसक्नु र भ्रष्टाचार नियन्त्रण, सुशासन एवं सेवाप्रवाहमा अपेक्षित सुधार हुन नसक्नु जेनजी आन्दोलनका मुख्य कारणहरू हुन् । तर आन्दोलनका क्रममा भएको हत्या-हिंसा, तोडफोड र आगजनी पनि त्यत्तिकै निन्दनीय छ ।
‘विगतमा नेकपा (एमाले)ले लिएका निर्णय, गरेका काम र तिनको परिणामका सम्बन्धमा गम्भीर समीक्षा हुने नै छ । पार्टी र राजकीय जिम्मेवारी निर्वाह गर्ने क्रममा भएका आफ्नो हिस्साका गल्ती, कमजोरी र भूलहरुप्रति क्षमायाचना गर्दछु,’ उनले भने ।