News Portal

  • एनसेलका लुटेरा फन्दामा पर्दै, सीसीटीभी फुटेजसहित कारवाहीको माग

    आर्थीकसंसार संवाददाता३० भदौ, २०८२
    ५ पटक
    ३० भदौ, २०८२

    काठमाडौं । काठमाडौंको लैनचौरस्थित मुख्य कार्यालय ‘एनसेल आइकन’मा गत भदौ २४ गते जेनजी प्रदर्शनका नाममा भएको तोडफोड, आगजनी र डकैती प्रकरणमा संलग्नहरूको भिडियो फुटेजसहित चोरी नोक्सानी भएको सबै विवरण एनसेलले जिल्ला प्रहरी कार्यालय काठमाडौंमा बुझाउँदै उनीहरू विरूद्ध उजुरी दर्ता गरेको छ ।

    एनसेलका अनुसार प्रदर्शनका क्रममा विभिन्न समूहले मौका छोपी कार्यालयमा ठूलो क्षति पुर्याएका थिए । उजुरीमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरेर कानूनी कारबाही गर्न, डकैती गरी लगिएका सामान फिर्ता दिलाउन र आगजनीबाट नष्ट भएको सम्पत्तिको क्षतिपूर्ति दिलाउन माग गरिएको छ ।

    कम्पनीका अनुसार आन्दोलनको नाममा आएका व्यक्तिहरूले सुरक्षाकर्मीलाई धम्की दिँदै कोठामा थुनिसकेपछि कार्यालयको सिसा फुटाएर भवनभित्र प्रवेश गरेका थिए । उनीहरूले ग्राहक सेवा केन्द्र, रिसेप्सन र हरेक तला पुगेका कार्यालयका उपकरण तथा कागजात नष्ट गरेका थिए । सक्कल प्रमाणपत्र, अनुमतिपत्र, जग्गाधनी प्रमाणपुर्जा र अन्य महत्वपूर्ण कागजात जलाइएको वा लुटिएको उजुरीमा उल्लेख छ ।

    एनसेलले आफ्नो कार्यालयका बहुमूल्य विद्युतीय सामान, कम्प्युटर, टेलिभिजन, प्रिन्टर, फ्रिज, ओभन, कफी भेन्डिङ मेसिनलगायत सम्पूर्ण कार्यालय उपकरण डकैती गरिएको जनाएको छ । कर्मचारीहरूका लकर फोडी ल्यापटप, व्यक्तिगत सामान तथा गहना समेत लुटिएको छ । बैठक कक्षका टिभी र मोनिटरदेखि फिटनेस कक्षका उपकरणसमेत बाहिर फालेर आगजनी वा डकैती गरिएको विवरण उजुरीमा छ ।

    त्यस्तै, कम्पनीका आफ्नै तथा भाडामा प्रयोगमा रहेका मोटरगाडीहरू नियन्त्रणमा लिएर पालैपालो भवनको आँगन र सडकमा ल्याई जलाइएको, केही सवारी साधन तोडफोड गरिएको र कर्मचारीका निजी गाडीसमेत नष्ट गरिएको उल्लेख छ ।

    प्रहरीलाई एनसेलले क्षतिको विवरण, लुटिएका सम्पत्तिको सूची तथा घटनाका सिसिटिभी फुटेज उपलब्ध गराएको छ । कम्पनीले तोडफोड, आगजनी र डकैतीबाट भएको वास्तविक क्षतिको मूल्यांकन भइरहेको र अनुसन्धानको क्रममा थप विवरण उपलब्ध गराइने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्