
काठमाडौं । नेपालका बीमा कम्पनीहरूले हुलदंगाको पुनर्बीमा नेपाल रिइन्स्योरेन्समा मात्रै गरेको पाइएको छ । यस अर्थमा गत भदौ २३ र २४ गते जेनजी आन्दोलनको कारण भएको क्षतिको ठूलो दबाब नेपाल रिमा पर्ने देखिएको छ ।
हिमालयन रि भने यस पटकको हुलदंगा बीमा क्षतिको भुक्तानी दिनुपर्ने दबाबबाट जोगिएको छ । सामान्यतया कुनै पनि बीमा कम्पनीले जारी गरेको बीमाको जोखिमलाई पुनर्बीमा कम्पनीहरूले बाँडफाँड गर्ने गर्छन् । हुलदंगा बीमाको हकमा पनि यही लागू हुन्छ ।
एक बीमा कम्पनीका स्रोतका अनुसार हुलदंगाबाट सिर्जित क्षतिको दाबी भुक्तानी ३५ प्रतिशत बीमा कम्पनीबाट र ६५ प्रतिशत रिइन्स्योरेन्स कम्पनीबाट बाँडफाँट हुने प्रावधान छ । स्रोतका अनुसार हुलदंगाको पुर्नबीमा अन्तर्राष्ट्रिय पुनर्बीमा कम्पनीहरूसँग पनि गरिएको छ ।
गत २२ गते युवापुस्ताले भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा देशभर गरेको प्रर्दशनका कारण सार्वजनिक र निजी सम्पत्तिमाथि ठूलो क्षति पुग्यो । विश्वकै ठूलो चेन होटलमध्येमा पर्ने हिल्टन होटल पुनःनिर्माण नै गर्न नमिल्नेगरी जलेको छ ।
प्रारम्भिक अनुमान अनुसार हिल्टनमा मात्रै ८ अर्ब रुपैयाँको क्षति भएको छ । जसमा बीमा मात्रै ५ अर्ब रुपैयाँको रहेको खुलेको छ । त्यस्तै, भाटभटेनीका देशभरका दुई दर्जन स्टोरमा क्षति पुगेको छ । यसबाट पनि अर्ब रुपैयाँको दाबी बीमा कम्पनीमा पर्ने देखिएको छ ।
नेपाल बीमा प्राधिकरणले उक्त हुलदंगा तथा आतंकजन्य गतिविधिबाट के कति क्षति पुगेको छ मूल्यांकन गरी भुक्तानी दिन बीमा कम्पनीहरूलाई निर्देशन दिइसकेको छ।
नेपालमा हुलदंगा र आतंकवादसम्बन्धी व्यवस्था
निर्जीवन बीमा व्यवसायअन्तर्गत जमिनमा आधारित सम्पत्ति तथा घरसम्बन्धी बीमाको स्वीकृत बीमालेख तयार गरी त्यसका लागी आवश्यक पर्ने बीमादर निर्धारण तालिकासमेत निर्माण गरी प्रचलनमा ल्याउनका लागि बीमादर सल्लाहकार समितिको सिफारिसमा बीमा ऐन, २०७९ को दफा १६६ को अधिकार प्रयोग गरी नेपाल बीमा प्राधिकरणले सम्पत्ति बीमा निर्देशन, २०८० जारी गरेको छ ।
सोही निर्देशनको परिच्छेद २ मा हुलदंगा तथा आतंकवादजन्य क्षति उल्लेख गरिएको छ । निर्देशनको परिच्छेद ३ मा बीमादरसम्बन्धी व्यवस्था गरिएको छ । सोही परिच्छेदको बुँदा ३० मा अनुसूची १६ मा रहनेगरी हुलदंगा तथा आतंकवादसम्बन्धी बीमादर निर्धारण गरिएको छ ।