News Portal

  • २० हजारभन्दा बढी सहकारीको नियमनका लागि संयुक्त संयन्त्र गठन हुने

    आर्थीकसंसार संवाददाता२० भदौ, २०८२
    १५ पटक
    २० भदौ, २०८२

    काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) र राष्ट्रिय सहकारी नियमन प्राधिकरणबीच सहकारीहरुको नियामकीय लेखापरीक्षण (प्रुडेन्सियल अडिट) प्रभावकारी बनाउन सहकार्य गर्ने सहमति भएको छ ।

    काठमाडौंमा सम्पन्न छलफल कार्यक्रममा सहकारी ऐन २०७४ मा भएका प्रावधानअनुसार बचत तथा ऋण सहकारी संस्थाहरुको नियमन, अनुगमन, लेखापरीक्षण र सूचना आदानप्रदानका विषयमा विस्तृत छलफल गरिएको थियो ।

    कार्यक्रममा प्राधिकरणका अध्यक्ष डा. खगराज शर्मा, विज्ञ सदस्य डा. रमेश चौलागाई, सदस्य सिए महेश खनाल, कार्यकारी निर्देशक शेषनारायण पौडेललगायतको उपस्थिति थियो । आइक्यान तर्फबाट अध्यक्ष सिए निलबहादुर सारु मगर, उपाध्यक्ष आनन्दराज शर्मा वाग्ले, पार्षद सदस्यहरु तथा कार्यकारी निर्देशक सहभागी भएका थिए ।

    प्राधिकरणका पदाधिकारीहरूले २० हजारभन्दा बढी बचत तथा ऋण सहकारी संस्थाको प्रभावकारी सुपरिवेक्षण तथा सदस्यहरूको बचत सुरक्षित गर्न संस्थाको सहयोग अपरिहार्य रहेको उल्लेख गरे । प्राधिकरणसँग संस्थागत र प्राविधिक क्षमता अभाव भएकाले आइक्यानसँग रोस्टर तयार गर्ने, शुल्क निर्धारण गर्ने, र सहकारी क्षेत्रमा वित्तीय प्रतिवेदन मानक लागू गर्न सहयोग आवश्यक रहेको धारणा राखियो ।

    आइक्यान अध्यक्ष सारु मगरले दुवै नियामकीय निकायबीच समझदारीपत्र गरेर औपचारिक सहकार्य अघि बढाउन सकिने बताए । उनले संस्थाले आफ्ना सदस्यहरुलाई रोस्टरमा समावेश गरी सहकारीहरुको प्रुडेन्सियल अडिटमा संलग्न गराउन सक्ने तथा यसबाट प्राधिकरणको जनशक्ति र प्राविधिक क्षमतामा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

    कार्यक्रमको निष्कर्षमा आइक्यान र प्राधिकरणबीच निकट भविष्यमा समझदारीपत्र गर्ने, प्रुडेन्सियल अडिटलाई व्यवस्थित गर्ने, र आपसी सहकार्य तथा समन्वयका लागि विशेष संयन्त्र (स्टेरिङ कमिटी) गठन गर्ने सहमति भएको छ ।

    प्रतिकृया दिनुहोस्