
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले भदौ २७ गतेदेखि अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले गत साउन ६ गतेदेखि भदौ २ गतेसम्म १० बराबर ३.४७ अनुपातमा जारी गरेको हकप्रदमा आवेदन नपरेको सेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने भएको हो ।
कम्पनीले चुक्ता पुँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार रुपैयाँको ३४.७८ प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ३.४७ कित्ता सेयर अनुपातमा ६५ करोड ७६ लाख ९६ हजार ७६६ रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ६५ लाख ७६ हजार ९६७ कित्ता हकप्रद सेयर जारी गरेको थियो ।
उक्त समयमा कम्पनीको संस्थापक सेयरधनी समूहतर्फ ४ हजार ४६८ कित्ता सेयर र सर्वसाधारण सेयरधनी समूहतर्फ १ लाख ९२ हजार ५७४ कित्ता गरी कुल १ लाख ९७ हजार ४२ कित्ता सेयरमा भने आवेदन परेको थिएन । उक्त सेयर लिलाम बढाबढमा बिक्री गरिने कम्पनीले जनाएको छ ।
कम्पनीको सेयर मूल्य १ सय रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । उक्त सेयर खरिदका लागि असोज ५ गतेसम्म बोलपत्र पेश गर्न सकिने कम्पनीले जनाएको छ ।
बोलपत्र पेश गर्दा संस्थापकतर्फ न्यूनतम १ हजार कित्ता र सर्वसाधारणतर्फ न्यूनतम १०० कित्ता सेयर लागि आवेदन दिनु पर्नेछ ।
इन्स्योरेन्सको सेयर बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल रहेको छ । लगानीकर्ताले एनआईएमबि एस क्यापिटलका केन्द्रीय कार्यालय लाजिम्पाट तथा चिप्लेढुङ्ग (पोखरा), ट्राफिकचोक (बुटवल), आदर्शनगर (वीरगंज) र गोल्छाचोक (विराटनगर) शाखा कार्यालयबाट आवेदन दिन सक्ने जनाएको छ ।