News Portal

  • प्रभु लाईफको शेयरमा अझै स्वतन्त्र कारोबार हुन सकेन

    आर्थीकसंसार संवाददाता२२ पौष, २०७७
    १७०० पटक
    २२ पौष, २०७७

    काठमाडौं । गत आइतबारदेखि कारोबार सुरु भएको प्रभु लाईफ इन्स्योरेन्स कम्पनीको स्वतन्त्र कारोबार अझै हुन सकेको छैन । चार दिनमा जम्मा ३६ रुपैयाँ मूल्यबृद्धि भएको शेयर किन्न हजारौं खरिदकर्ताहरु लाईनमा बसे पनि बिक्रेता आएका छैनन् ।
    प्रभु लाईफ इन्स्योरेन्सको शेयर १५ रुपैयाँले बृद्धि भएपछि सकारात्मक सर्किट लागेको छ । सर्किटभित्रै २२२ कित्ता शेयर कारोबार भएको छ । अधिकांश शेयर सेटिङमा कारोबार भएको आरोप लगानीकर्ताहरुले लगाएका छन् ।
    अधिकतम मूल्य ३२८ रुपैयाँसम्ममा कारोबार हुनसक्ने भए पनि १३७ रुपैयाँबाट कारोबार सुरु गर्दा बिक्रेताले चाहेको मूल्यमा बिक्री गर्न पाएका छैनन् भने खरिदकर्ताले पनि चाहेको मूल्यमा शेयर खरिद गर्न सकेका छैनन् । प्रभु लाईफ इन्स्योरेन्स कम्पनीको शेयरमा स्वतन्त्र कारोबार हुन अझै एक साताभन्दा बढी समय लाग्ने देखिएको छ ।
    प्रतिकित्ता १३७ रुपैयाँदेखि खुला भएको कम्पनीको शेयर मूल्य चार कारोबार दिनको कारोबारमा १७३ रुपैयाँ पुगेको छ । शेयर मूल्य बढ्नुपर्नेमा सेटिङमा एक कित्ता शेयर खरिद बिक्री गरी उल्टै मूल्य घटाउन थालेपछि प्रभु लाईफ इन्स्योरेन्सको शेयरमा तीव्र चलखेल भएको पुष्टि भएको छ ।
    दैनिक रुपमा सकारात्मक सर्किट लागेर अघि बढ्दा समेत प्रभु लाईफ इन्स्योरेन्स कम्पनीको शेयर स्वतन्त्र कारोबार हुन अझै १० दिन लाग्ने एक ब्रोकर कम्पनीका अधिकारीले जानकारी दिए । प्रभु लाईफ इन्स्योरेन्सको शेयरमा स्वतन्त्र कारोबार हुन नसकेपछि ब्रोकर कम्पनीविरुद्धमा सामाजिक सञ्जालमा लगानीकर्ताहरुले चर्को गाली गर्दै आएका छन् ।

    प्रतिकृया दिनुहोस्