News Portal

  • जलवायु परिवर्तनको असर उड्डयन क्षेत्रमा देखिँदा नेपालको चिन्ता, क्षेत्रीय पहलको आह्वान

    आर्थीकसंसार संवाददाता१५ साउन, २०८२
    १९३ पटक
    १५ साउन, २०८२

    जापान । हवाई उड्डयन क्षेत्रमा जलवायु परिवर्तनको असर स्पष्ट रूपमा देखिन थालेकोप्रति नेपालले गहिरो चिन्ता व्यक्त गरेको छ ।

    अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको एसिया–प्रशान्त क्षेत्रीय ६० औं महानिर्देशकस्तरीय सम्मेलनमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जलवायु र उड्डयनबीचको सम्बन्धमा गम्भीर ध्यानाकर्षण गराएका हुन् ।

    ‘उड्डयन र वातावरण’ शीर्षकको सत्र सञ्चालन गर्दै अधिकारीले हिमाल पग्लनु, बाढी, हिमताल विस्फोट र अनिश्चित मौसमका कारण नेपालको उड्डयन क्षेत्रमा देखिएका समस्याबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउँदै भने, ‘नेपालले विश्वको कार्बन उत्सर्जनमा झिनो भूमिका निभाउँछ, तर असर सर्वाधिक हामीजस्तै मुलुकले भोग्नुपरेको छ ।’

    उनले उड्डयनलाई आर्थिक इञ्जिनका रूपमा चिनाए पनि यसले जलवायुमा पार्ने प्रभाव नकार्न नसकिने भन्दै अब वस्तुपरक, समन्यायिक र समावेशी समाधान खोज्नुपर्नेमा जोड दिए । नेपालजस्ता मुलुकका अनुभवलाई अन्तर्राष्ट्रिय नीतिमा स्थान दिनुपर्ने उनको आग्रह थियो ।

    सत्रमा उनले नेपालले आफ्ना विमानस्थलहरूमा नवीकरणीय जलविद्युत प्रयोग गर्दै ‘हरित विमानस्थल’ को अवधारणा अगाडि सारेको जानकारी गराउँदै अन्य देशहरूलाई पनि समान न्यायोचित रूपान्तरण र नवप्रवर्तनमा जोड दिन आग्रह गरे ।

    सम्मेलनमा भारत, इन्डोनेसिया लगायतका देशका प्रतिनिधिहरूले पनि उड्डयन क्षेत्रको दिगोपनाका लागि हरित नीति, वैकल्पिक इन्धन र क्षेत्रीय क्षमतावृद्धिमा सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए ।

    महानिर्देशक अधिकारीले सत्रको समापन गर्दै भने, ‘हाम्रो उड्डयन गतिविधि सानो होला, तर हामीले भोगेका असरहरू साना छैनन् । समानता, नवप्रवर्तन, र साझा प्रतिबद्धता नै अगाडि बढ्ने मार्ग हुन् ।’

    प्रतिकृया दिनुहोस्