News Portal

  • एनएलजी इन्स्योरेन्सको लाभांश पारित, खुद नाफा १४.७ करोड पुग्यो

    आर्थीकसंसार संवाददाता२९ जेठ, २०८२
    १७ पटक
    २९ जेठ, २०८२

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको १९ औं वार्षिक साधारणसभा बिहीबार काठमाडौंमा सम्पन्न भएको छ ।

    सभाले आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षित वित्तीय विवरण पारित गर्दै आगामी वर्षको लेखापरीक्षक नियुक्ति र लाभांश वितरणसम्बन्धी प्रस्तावहरू स्वीकृत गरेको छ।

    सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा-नोक्सान विवरण, नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय अभिलेखमाथि छलफल गरी अनुमोदन गरेको हो ।

    सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चित मुनाफाबाट चुक्ता पुँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार ९८२ रुपैयाँको २.५० प्रतिशतका दरले ६ करोड २५ लाख ६६ हजार ४५० रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

    कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आव २०८१/८२ का लागि एससी लाल एशोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई लेखापरीक्षकका रूपमा नियुक्त गर्ने प्रस्ताव पनि सभाबाट पारित गरिएको छ ।

    एनएलजी इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ मा उल्लेखनीय प्रगति गरेको छ । बीमा शुल्क आम्दानी ७।३६ प्रतिशतले वृद्धि भई २ अर्ब ५८ करोड रुपैयाँ पुगेको कम्पनीले जनाएको छ । कम्पनीले सो अवधिमा ६४ करोड ६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्दै १४ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

    यसबाहेक कुल दाबी भुक्तानी २५.०१ प्रतिशतले घट्दै १ अर्ब ६४ करोड रुपैयाँमा झरेको छ भने खुद दाबी भुक्तानी २१.२२ प्रतिशतले घटेर ४२ करोड ८१ लाख रुपैयाँमा सीमित भएको कम्पनीले जनाएको छ ।

    कम्पनीले आफ्नो पुनर्बीमा रणनीति अन्तर्गत जर्मनीको विश्वप्रसिद्ध पुनर्बीमा कम्पनी हेनोभर रीको नेतृत्वमा पुनर्बीमा समावेश गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्