News Portal

  • हिमालयन रिइन्स्योरेन्सको लाभांश पारित

    आर्थीकसंसार संवाददाता२५ जेठ, २०८२
    १५ पटक
    २५ जेठ, २०८२

    काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको चाैंथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा काठमाडौँ, कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आइतबार सम्पन्न भएको हो ।

    सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको आर्थिक प्रतिवेदन सहितको वित्तीय विवरणहरु पारित गरी चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव पारित गरेको छ ।

    त्यसैगरी, सभाले हाल कायम रहेको चुक्ता पुँजी १० अर्ब ४० करोड रुपैयाँको ४.५० प्रतिशतका दरले हुन आउने ४६ करोड ८० लाख रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि २ करोड ४६ लाख ३१ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव पारित गरेको छ ।

    निजी क्षेत्रद्घारा प्रवर्द्धित हिमालयन रिइन्स्योरेन्स लिमिटेड अन्तराष्ट्रिय रेटिङ्ग एजेन्सीबाट रेटिङ्ग भएको नेपालको एक मात्र कम्पनी हो । कम्पनीले विश्वविख्यात रेटिङ्ग एजेन्सी एएम बेस्टबाट बी प्लस रेटिङ पाएको छ ।

    कम्पनीले अन्तराष्ट्रिय बीमा बजारमा एक उदाउँदो पुनर्बीमा कम्पनीको पहिचान बनाउने क्रममा ५२ वटा भन्दा बढी देशहरुबाट पुनर्बीमा व्यवसाय भित्र्याउन सफल भएको छ भने विश्वविख्यात पुनर्बीमा कम्पनी जनरल इन्स्योरेन्स कर्पोरेशन अफ इन्डिया तथा हानोइ रिजस्ता ठूला पुनर्बीमा कम्पनीहरुको रेट्रोसेससन प्रोग्राममा समेत हिस्सा लिएको छ ।

    कम्पनीले गत वर्ष मात्रै सर्वसाधारणमा नेपालको इतिहासको सबैभन्दा ठूलो प्रारम्भिक शेयर निष्काशन सम्पन्न गरेको थियो । सो सेयर निष्काशन सम्पन्न गरे लगत्तै बसेको कम्पनीको तेस्रो वार्षिक सभाले तत्कालीन चुक्ता पूँजी १० अर्बको  ४ प्रतिशतका दरले हुन आउने ४० करोड रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने निर्णय गरेको थियो ।

    त्यसैगरी सभाले प्रबन्धपत्र तथा नियमावलीमा गरिएको थप तथा संशोधन र सो को अभिलेख गराउने सम्बन्धमा नियमनकारी निकायबाट कुनै फेरबदल वा परिमार्जन वा सुधारको लागि निर्देशन भएमा सोही बमोजिम गर्ने गराउने सम्बन्धी सम्पूर्ण अख्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

    कम्पनीको सञ्चालक समितिको अध्यक्षमा शेखर गोल्छा रहेका छन् ।

    प्रतिकृया दिनुहोस्