News Portal

  • सिद्धार्थ बैंकले भन्यो– नबिल बैंकसँग मर्ज हुन सक्दैन

    आर्थीकसंसार संवाददाता९ पौष, २०७७
    २२५९ पटक
    ९ पौष, २०७७

    काठमाडौं । नबिल बैंकसँग मर्ज हुन नसक्ने कुरा सिद्धार्थ बैंकले बताएको छ । सिद्धार्थ बैंकले नबिल बैंकसँग मर्जमा जान लागेको बजारको हल्ला सही नभएको समेत बताएको छ । केही दिनयता विभिन्न सञ्चारमाध्यमा तथा सामाजिक सञ्जालमा बैंक नबिलसँग मर्ज हुन लागेको हल्ला आएसँगै सिद्धार्थ बैंकले त्यसमा कुनै आधिकारिता नभएको भन्दै स्पष्टीकरण दिएको हो ।
    सिद्धार्थ बैंकका कम्पनी सचिव लक्ष्मण घिमिरेले उक्त हल्ला गलत भएको र गलत हल्लाहरुको पछि नलाग्न आम लगानीकर्तालाई सुझाव दिएका छन् । उनले बिहीबार एक सूचनामार्फत सो जानकारी गराएका हुन् ।
    पछिल्लो समय सेयर मूल्यमा चलखेल गर्नको लागि कुनै बैंकसँग अर्काे कम्पनी मर्जर वा एक्वीजिसनमा जान लागेको हल्ला चलाउने काम व्यापक हुँदै आएको छ । केही साताअघि पनि हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक एकआपसमा मर्जरमा जाँदै भनेर हल्ला फैलाइएको थियो । त्यस्तै, अर्काे नबिल र एनसीसी बैंक मर्जमा जाने भनेर एनसीसी बैंकको सेयर मूल्य बढाउने काम भइरहेको छ । जबकी त्यो आधिकारिक हो वा होइन भन्नेमा सम्बन्धित कम्पनीले स्पष्ट जानकारी समेत गराएको छैन ।


    त्यसैगरी अर्को नबिल बैंकसँग मर्जको हल्लासँगै एनसीसी बैंकको सेयर मूल्यमा उछाल मारेको छ । नबिल बैंकसँग मर्ज हुन लागेको हल्ला चलेपछि एनसीसी बैंकको सेयर मूल्यमा उछाल आएको छ । एक महिनायता एनसीसी बैंकको सेयर मूल्य प्रतिकित्ता १२८ रुपैयाँले बढेको छ ।
    एक महिनाअघि प्रतिकित्ता २३६ रुपैयाँमा कारोबार भएको एनसीसी बैंकको सेयर बुधबार प्रतिकित्ता ३६४ रुपैयाँमा कारोबार बन्द भयो । बुधबार मध्यान्न ३८५ रुपैयाँसम्ममा कारोबार भएको थियो जुन मूल्य एक महिना पहिलाको तुलनामा ६३ प्रतिशतले बढी हो । पछिल्लो समय बैंकले १० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ ।


    नबिल बैंकसँग मर्जको विषयमा छलफल भइरहेको तर यस्तो कुराकानी अहिलेसम्म अनौपचारिकतामा नै सीमित रहेको एनसीसी बैंकका एक उच्च अधिकारीले बताए । ‘साथीहरुले अनौपचारिक तवरले कुरा गरिरहनु भएको छ । कुराकानी सकारात्मक भएको रिपोर्टिङ गर्नुभएको छ । तर औपचारिक रुपमा सञ्चालक समितिमा छलफल भएको छैन’ उनले भने ।
    नबिल र एनसीसी बैंकबीच मर्जको विषयमा नबिल बैंकको व्यवस्थापन तथा सञ्चालक समिति दुबै तहमा छलफल नभएको नबिल बैंकका एक उच्च अधिकारीले नाम नखुलाउने सर्तमा भने । ‘नबिल बैंकले पहिलोपटक मर्जको प्रस्ताव साधारणसभामा लैजादैछ । ग्लोबल आईएमई बाहेक निजी क्षेत्रका सबै बैंकले नबिलमा मर्ज हुन पाए हुन्थ्यो भने चाहाना राखेका छन् । प्रस्तावहरु आएका छन्’ उनले भने ।
    पछिल्लो एक महिनामा नबिल बैंकको सेयर पनि प्रतिकित्ता ९७२ बाट १४८९ रुपैयाँ पुगेको छ । बैंकले ३५.२६ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । त्यसमा ३३.५ प्रतिशत बोनस सेयर दिने निर्णय सञ्चालक समितिले गरेको छ ।


    एनसीसी बैंकले नबिल बैंक तीन कारणले रोजेको छ । पहिलो, नबिल बैंकको व्यवस्थापन राम्रो छ । सम्पत्तिको हिसाबले एनसीसी बैंक धेरै राम्रो छ । मर्ज हुँदा सिनर्जी आउँछ । दोस्रो, एनसीसी बैंकको ठूलो समस्या भनेको प्रवद्र्धकहरुबीचको झगडा हो । नबिल जस्तो ठूलो संस्थासँग मर्ज भएको एनसीसी बैंकका प्रवद्र्धकहरुको सेयर हिस्सा सानो हुन्छ । त्यसपछि सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सवालदेखि विवाद निकालेर बैंकलाई अप्ठ्यारो पार्ने हैसियत एनसीसी बैंकका प्रवद्र्धकले गुमाउने छन् ।
    तेस्रो, एनसीसी बैंकको नेटवर्क धेरै ठूलो छ । एनसीसीसँग मर्ज भएमा नबिल बैंकलाई ग्लोबल आईएमई वा एनआईसी एशियाजस्ता धेरै शाखा भएका बैंकसँग प्रतिस्पर्धा गर्न सजिलो हुने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्