News Portal

  • राष्ट्र बैंकको विश्लेषण : अर्थतन्त्र सुधार हुँदैछ, महँगी घट्दैछ

    आर्थीकसंसार संवाददाता२६ फागुन, २०८१
    १५ पटक
    २६ फागुन, २०८१

    काठमाडौं । नेपाल राष्ट्र बैंकले अर्थतन्त्रका सूचक सुधारको बाटोमा रहेको तथ्यांक सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सोमबार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै अर्थतन्त्रका सूचक सही दिशामा अगाडि बढिरहेको सन्देश दिएको हो ।

    नेपाल राष्ट्र बैंकले मूल्यवृद्धि घट्दै गरेको तथ्यांक सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सात महिनाको तथ्यांक सार्वजनिक गर्दै २०८१ माघ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१६ प्रतिशत रहेको बताएको हो । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.०१ प्रतिशत रहेको थियो ।

    समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.९५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७४ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः ६.५९ प्रतिशत र ३.९८ प्रतिशत रहेको थियो ।

    समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ४.७३ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३.९६ प्रतिशतले बढेको छ । प्रदेशगत रुपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.१५ प्रतिशत, मधेश प्रदेशको ३.९१ प्रतिशत, बागमती प्रदेशको ३.३५ प्रतिशत, गण्डकी प्रदेशको ३.४० प्रतिशत, लुम्बिनी प्रदेशको ४.१६ प्रतिशत, कर्णाली प्रदेशको ४.०५ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ४.७१ प्रतिशत रहेको छ ।

    समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.५३ प्रतिशत, तराईको ४.२५ प्रतिशत, पहाडको ४.११ प्रतिशत र हिमालको ५.२१ प्रतिशत रहेको छ । २०८१ माघ महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ३.४७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति २.८२ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमशः ४.२७ प्रतिशत, ३.११ प्रतिशत र २.९० प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मुद्रास्फीति ०.७२ प्रतिशतले घटेको छ ।

    साढे ९ खर्ब आयो रेमिट्यान्स

    चालु आर्थिक वर्षको सात महिनामा साढे ९ खर्ब रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र र्बैंकका अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भई ९ खर्ब ५८ करोड पुगेको छ ।

    अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.३ प्रतिशतले वृद्धि भई ६ अर्ब ६५ करोड पुगेको छ ।

    अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको थियो ।समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ९ खर्ब ८५ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ९ खर्ब १० अर्ब ७७ करोड रहेको थियो ।

    समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या २ लाख ७४ हजार ६२२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ९० हजार ८८६ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ४५ हजार ४३२ र १ लाख ५७ हजार ४५ रहेको थियो ।

    विदेशी मुद्राको सञ्चिति पनि बढ्दै

    विदेशी विनिमय सञ्चिति साढे २३ खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१÷८२ को माघसम्ममा विदेशी मुद्रा सञ्चिति २३ खर्ब ६९ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । जबकी २०८१ असारमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ कुल विदेशी विनिमय सञ्चिति थियो । ७ महिनाको अवधिमा १६.१ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

    राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति माघ मसान्तमा ११.७ प्रतिशत बढेर १७ अर्ब ५ करोड पुगेको छ । २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेको थियो । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा १३.९ प्रतिशतले वृद्धि भई २१ खर्ब ५ अर्ब १४ करोड रुपैयाँ र बैंक तथा वित्तीय संस्थासँग ३७.१ प्रतिशतले वद्धि भई २ खर्ब ६३ अर्ब ९३ करोड रुपैयाँ कायम भएको छ गत असारसम्ममा राष्ट्र बैंकसँग १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ र बैंक तथा वित्तीय संस्थासँग .१ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ थियो ।

    शोधान्तर स्थिति बचतमा

    चालु आर्थिक वर्षको माघसम्म शोधान्तर स्थिति २ खर्ब ८४ अर्ब ४१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ९७ अर्ब ७२ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २४ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ११ करोडले बचतमा रहेको छ ।

    समीक्षा अवधिमा चालु खाता १ खर्ब ६६ अर्ब ८० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.१६२ अर्ब ५२ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब २२ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब २४ करोडलेबचतमा रहेको छ ।

    समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर रु.५ अर्ब ८३ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर रु.३ अर्ब ८० करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा रु.७ अर्ब ४५ करोड प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) रु.५ अर्ब १९ करोड रहेको थियो ।

    व्यापार घाटामा वृद्धि

    आर्थिक वर्ष २०८१/८२ को सात महिनामा कुल वस्तु व्यापार घाटा ६.२ प्रतिशतले वृद्धि भई ८ खर्ब ६१ अर्ब ३८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा १.८ प्रतिशतले कमी आएको थियो ।

    समीक्षा अवधिमा निर्यात-आयात अनुपात १२.९ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.७ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १०३ अर्ब ९४ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ८८ अर्ब १८ करोड बराबरको भएको थियो ।

    आयात निर्यात बढ्यो

    आर्थिक वर्ष २०८१/८२ को सात महिनामा कुल वस्तु निर्यात ४६.५ प्रतिशतले वृद्धि भई १ खर्ब २७ अर्ब २० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ७.१ प्रतिशतले कमी आएको थियो ।

    गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ६६.९ प्रतिशत, ८.६ प्रतिशत र ३.५ प्रतिशतले वृद्धि भएको छ ।

    सात महिनामा कुल वस्तु आयात १०.१ प्रतिशतले वृद्धि भई ९ खर्ब ८८ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा २.३ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ७.५ प्रतिशत, ११.२ प्रतिशत र १७.५ प्रतिशतले वृद्धि भएको छ ।

    प्रतिकृया दिनुहोस्