
काठमाडौं । इसेवा र हिमालयन बैंकबीच विद्युतीय कारोबार सम्भव बनाउनको लागि साझेदारी भएको छ । यस साझेदारी पश्चात अब इसेवा प्रयोगकर्ता तथा हिमालयन बैंकका ग्राहकहरुले सहजै विद्युतीय माध्यमबाट रकम ट्रान्सफर गर्न सक्ने छन् ।
कम्पनीका अनुसार दुवै संस्थाका ग्राहकहरूलाई थप सेवा र पहुँच प्रदान गर्ने उद्देश्यले गत हप्ता एउटा औपचारिक कार्यक्रममा दुवै संस्थाका प्रतिनिधिहरुले सम्झौता पत्रमा हस्ताक्षर गरी यस सेवाको प्रारम्भ गरेका हुन् । यस साझेदारी पश्चात अब हिमालयन बैंकको ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ्ग एप प्रयोग गरी सिधै इसेवा वालेटमा रकम लोड गर्न सक्ने छन् भने इसेवा प्रयोगकर्ताहरूले आफ्नो इसेवा वालेटमा भएको रकम हिमालयन बैंकको खातामा ट्रान्सफर गर्न सक्नेछन् ।
इसेवा र हिमालयन बैंक बीच भएको यस सम्झौताप्रति खुशी व्यक्त गर्दै, इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले यो सम्झौताले दुवै पक्षका ग्राहकलाई बिना झन्झट आफ्नो बैंक खाता र इसेवा वालेट बीच रकम ट्रान्सफर कार्य गर्न सहज बनाउने उल्लेख गरेका छन् ।
यस सम्झौताले ग्राहकहरूको अमूल्य समय बचाउनुको साथै डिजिटल कारोबारलाई थप सुरक्षित र प्रभावकारी बनाउने कुरामा समेत उनले जोड दिएका छन् । खड्काले भविष्यमा ग्राहकहरूको हित तथा सहजताका लागि आवश्यकता अनुसार थप सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।