News Portal

  • बैंकबाट वालेटमा रकम पठाउँदा १० लाखको सीमा, सरकारी राजस्वदेखि एसएसएफको रकम भुक्तानी गर्दा सीमा नलाग्ने

    आर्थीकसंसार संवाददाता२४ फागुन, २०८१
    ९ पटक
    २४ फागुन, २०८१

    काठमाडौं । डिजिटल माध्यमबाट राजस्व तिर्दा सीमा नलाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०८० मा संशोधन तथा परिमार्जन गर्दै एक वालेटबाट अर्को वालेटमा रकम जम्मा÷भुक्तानी गर्ने उपर्युक्त अधिकतम सीमासम्बन्धी व्यवस्थाले बाधा नपुग्ने व्यवस्था गरेको हो ।

    राष्ट्र बैंकले बैंक खाताबाट वालेट र वालेटबाट अन्य बैंक खाता (क्यूआर समेत)मा रकम जम्मा गर्दा प्रतिदिन २ लाख रुपैयाँ र प्रतिमहिना १० लाख रुपैयाँको सीमा तोकेको छ । यस्तै, एक वालेटबाट अर्काे वालेटमा रकम जम्मा गर्दा प्रतिदिन ५० हजार रुपैयाँ र प्रतिमहिना ५ लाख रुपैयाँको सीमा निर्धारण गरिएको छ ।

    तर, राष्ट्र बैंकले नेपाल सरकारको सम्बन्धित कार्यालयमा भुक्तानी गर्नुपर्ने कर, राजस्व, जरिवाना, सवारी दस्तुर, रजिष्ट्रेशन तथा सेवा शुल्क जस्ता शुल्कहरू भुक्तानी गर्दा अधिकतम सीमा लागू नहुने व्यवस्था गरेको हो । यस्तै, विद्युत, दूरसञ्चार, तथा खानेपानी महशुल, बीमा प्रिमियम, योगदानमा आधारित सामाजिक सुरक्षा कोष (एसएसएफ)को रकम भुक्तानी र विद्यालयको शुल्क बराबरको रकमको भुक्तानी गर्दा सीमा नलाग्ने राष्ट्र बैंकले जनाएको छ ।

    राष्ट्र बैंकका अनुसार प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म मात्र रकम जम्मा गर्न सकिनेछ । वालेटमा अधिकतम ५० हजार रुपैयाँभन्दा बढी मौज्दात ओभरनाइट ब्यालेन्स राख्न पाइने छैन । सो सीमा भन्दा बढी रहेको रकम अनिवार्य रुपमा ग्राहकको सम्बन्धित बैंक खातामा जम्मा हुने व्यवस्था मिलाउनुपर्ने छ ।

    भुक्तानी सेवा प्रदायक संस्थाले राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त विप्रेषण कम्पनीसँग सम्झौता गरी विदेशबाट आप्रवाह हुने रकम नेपालमा सञ्चालित विद्युतीय वालेटमा जम्मा हुने गरी रेमिटेन्स भित्र्याउन सक्नेछन् । यसरी रेमिटेन्स प्राप्त गर्दा वालेटमा रकम जम्मा गर्न तोकिएकोसीमाले बाधा पु¥याएको मानिने छैन ।

    विदेशबाट वालेटमा प्राप्त रेमिटेन्स रकम वालेटको ओभरनाइट ब्यालेन्सको सीमाभन्दा बढी भएको अवस्थामा प्रापकले उपलब्ध गराएको बैंक खातामा स्थानान्तरण हुने व्यवस्था सम्बन्धित भुक्तानी सेवा प्रदायक संस्थाले मिलाउनु पर्नेछ । वालेटबाट वालेट प्रयोगकर्ताको आफ्नै बैंक खाता (वालेटमा लिंक गरिएको) मा रकमान्तर गर्दा कुनै सीमा लाग्ने छैन ।

    यूएसएसडी प्रणालीमा आधारित भुक्तानी कारोबारको अधिकतम सीमा दैनिक १० हजार रुपैयाँ प्रति कारोबार ५ हजार रुपैयाँ हुनुपर्ने छ ।

    प्रतिकृया दिनुहोस्