News Portal

  • व्यवसायी पलायन रोक्न बैंकले सहजीकरण गर्नुपर्छ : गभर्नर अधिकारी

    आर्थीकसंसार संवाददाता२१ माघ, २०८१
    ३७ पटक
    २१ माघ, २०८१

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यवसायीहरूलाई समस्या पर्दा बैंक तथा वित्तीय क्षेत्रले सहजीकरण गर्नुपर्ने बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले अर्थतन्त्रलाई सही दिशामा लैजान बैंकले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

    बैंकले ऋण प्रवाह र कर्जा असुलीमा मात्रै ध्यान नदिएर व्यवसायीका व्यावहारिक कठिनाइ बुझ्नुपर्ने उनको भनाइ छ ।

    ‘कुनै उद्यमीले व्यवसाय गरिरहँदा ठूलो मेहनत गरेको हुन्छ, उसको व्यवसाय कुनै कारण वा योजनाअनुरुप काम नहुँदा समस्यामा पर्न सक्छ, यस्तो अवस्थामा बैंकले सहजीकरण गरिदिन सक्नुपर्छ,’ उनले भने, ‘व्यवसायीलाई कालोसूची पार्नेतर्फ नगइ प्राविधिक र वित्तीय रुपमा सहजीकरण गरिदिनसक्नुपर्छ ।’

    उनले बैंकले सहजीकरण मात्रै गरिदिँदा पनि व्यवसायीलाई सहयोग हुने भएकाले पलायन हुने अवस्था नआउने बताए । उनले कुनै व्यवसायी पलायन हुँदाको असर मुलुकलाई पर्ने भएकाले बैंकलाई सहजीकरण गर्न सुझाव दिए । गभर्नर अधिकारीले अर्थतन्त्रका अधिकांश सूचकहरु सकारात्मक रहेको बताए ।

    ‘मुलुकको अर्थतन्त्र सकारात्मक दिशामा छ, यद्यपि केही समस्या छन्, बैंकिङ क्षेत्र संवेदनशील भएकाले नकारात्मक टिप्पणीले ठूलो असर गर्छ,’ उनले भने ।

    नेपाल बैंकर्स सङ्घका अध्यक्ष सन्तोष कोइरालाले बैंकिङ क्षेत्रमा अहिले समस्या देखिएको उल्लेख गर्दै सरकारले सुरुदेखि व्यवस्थापन गर्न आवश्यक रहेको बताए । बैंकहरुले अहिले पनि कर्जा ‘रिकभरी’मा समस्या भोगिरहेको उनको भनाइ छ ।

    ‘कर्जा रिकभरीमा बैंकहरुले अहिले समस्या भोगिरहेका छन्, लिलामीका लागि सिफारिस लिन अझै समस्या छ, स्थानीय तहबाट आवश्यक सहयोग प्राप्त भएको छैन,’ उनले भने ।

    प्रतिकृया दिनुहोस्