News Portal

  • कोरोनाको भ्याक्सिन निःशुल्क वितरण गर्छौंः अर्थमन्त्री पौडेल

    आर्थीकसंसार संवाददाता३ पुस, २०७७
    १४२९ पटक
    ३ पुस, २०७७

    काठमाडौं । सरकारले कोरोना भाइरसको भ्याक्सिन जनतालाई निःशुल्क उपलब्ध गराउने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ विरुद्धको भ्याक्सिन सरकारले नै आयात गरी जनतालाई निःशुल्क उपलब्ध गराउने बताएका छन् । अर्थमन्त्री पौडेलले कोरोना भ्याक्सिनको लागि स्रोतको अभाव नहुनेसमेत प्रष्ट पारेका छन् ।
    नेपाल आर्थिक पत्रकार संघको नवनिर्वाचित कार्य समितिका पदाधिकारीहरुसँगको भेटवार्तामा अर्थमन्त्री पौडेलले कोभिड–१९ को लक्षण देखिएका नेपालीको निःशुल्क परीक्षण र उपचार गरे जसरी नै भ्याक्सिनको आर्थिक दायित्व पनि राज्यले व्यहोर्ने बताएका हुन् । अर्थमन्त्री पौडेलले भने, ‘भ्याक्सिनमा नागरिकहरुले दायित्व व्यहोर्नु पर्दैन । हामी त्यसको तयारीमा छौं । भ्याक्सिन ल्याउनका लागि भ्याक्सिन उत्पादन गरेका देशहरुसँग कुटनीतिक संवाद जारी राखेका छौं ।’
    अर्थमन्त्री पौडेलले ग्लोबल मार्केटमा भ्याक्सिन उपलब्ध हुनासाथ नेपालमा आयात गर्नका लागि तयारी भइरहेको बताउँदै मापदण्डअनुसार कोभिड–१९ विरुद्ध फ्रन्टलाइनमा खटिएका र बृद्धबृद्धालाई प्राथमिकता दिने र त्यसपछि सबैलाई भ्याक्सिन उपलब्ध गराएर कोभिडविरुद्धको लडाइँलाई निर्णायक बनाउने दिशामा सरकारले काम गरिरहेको बताए ।
    अर्थमन्त्री पौडेलले कोरोनाको कारण अप्ठेरोमा परेको अर्थतन्त्रलाई सबल, सक्षम र गतिशील बनाउन सरकारले सम्भव सबै उपाय अवलम्बन गरिरहेको बताएका छन् ।

    प्रतिकृया दिनुहोस्