
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको ललितपुरस्थित कुमारीपाटी शाखामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले गत साता छापा मारेको छ । सुन धितोमा कर्जा प्रवाह गर्दा लाखौं रुपैयाँ घोटाला गरेको भन्दै सिआईबीले छापा मारेर तीन जना व्यक्तिलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सिआईबीका प्रवक्ता बेलबहादुर पाण्डेले सो बैंकको शाखामा छापा मारेको बताउँदै अनुसन्धान जारी रहेको जनाए । प्रवक्ता पाण्डेले भने, ‘केही मानिसहरु पक्राउ गर्नुपर्ने भएकाले धेरै कुरा बाहिर आइसकेको छैन । अनुसन्धान प्रक्रिया जारी छ । केही पहिले तीन जना मानिस पक्राउ गरी अनुसन्धान भइरहेकोछ ।’ बैंकका कर्मचारी, ऋणी तथा केही बिचौलियाको मिलेमतोमा बैंकमा कमसल सुन धितोमा राखी लाखौं रुपैयाँ कर्जा प्रवाह भएको पाइएपछि सिआईबीले छापा मारेको हो ।
पक्राउ परेका व्यक्तिहरुको विवरण खुलाइएको छैन । सिआईबीको टोलीले एक साताअघि नै तीनजना व्यक्ति पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ । महालक्ष्मी बैंकले भने सो घटनाको सम्बन्धमा केही बताएको छैन ।