
काठमाडौं । महुली लघुवित्तको थप सार्वजनिक निष्कासन (एफपीओ) शुक्रबार पुस १९ गते बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार शुक्रबार बिहान १०ः३० बजे नयाँ बानेश्वर काठमाडौंमा एफपीओ बाँडफाँड गर्ने जनाइएको छ ।
लघुवित्तको एफपीओमा १७ लाख ५८ हजार ८५३ जनाले कुल २ करोड ४८ लाख ८५ हजार ८४० कित्ताका लागि आवेदन परेको छ । माग भन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट एफपीओ बाँडफाँड हुने छ । शेयरमा आवेदन दिनेमध्ये ४७ हजार ५४५ जनाले मात्र शेयर पाउनेछन् । बाँकी आवेदक १७ लाख ११ हजार ३०८ जनाको हात खाली हुने भएको छ ।
लघुवित्तले पुस ५ गतेदेखि ९ गतेसम्म ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबरको एफपीओ जारी गरेको थियो । धितोपत्र दोस्रो बजारमा सूचीकृत यस कम्पनीको शेयरमूल्य प्रतिकित्ता १ हजार ४९० रुपैयाँ कायम छ । कम्पनीले सर्वसाधारणतर्फको शेयर स्वामित्व ३० प्रतिशत कायम गर्नका लागि प्रतिशेयर १०० रुपैयाँमा नै एफपीओ निष्कासन गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी भने ३२ करोड २३ लाख ७८ हजार रहेको छ । एफपीओ निष्कासन तथा बाँडफाँडपछि कम्पनीको चुक्तापूँजी ३६ करोड ९९ लाख २३ हजार ५०० रुपैयाँ कायम हुनेछ ।