काठमाडौं । सिटिजन्स बैंकको वित्त व्यवस्थापन नेतृत्वमा संखुवाखोला जलविद्युत परियोजना बन्ने भएको छ । संखुवाखोला जलविद्युत परियोजनामा सिटिजन्ससहित विभिन्न ४ बैंकले ६ अर्ब १५ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका हुन् ।
४१.०६ मेगावाट क्षमताको संखुवाखोला जलविद्युतमा सिटिजन्स बैँक, एभरेष्ट बैंक, नेपाल एसबिआई बैंक र सानिमा बैंकले ऋण लगानी गर्ने भएका हुन् । परियोजनाको अनुमानित लागत करीब ८ अर्ब २० करोड रुपैयाँमध्ये बैंकहरूले ७५ः२५ को ऋणःस्वपुँजी अनुपातमा ६ अर्ब १५ करोड रुपैयाँ बराबरको ऋण लगानी गर्ने जनाएको छ ।
सिटिजन्स बैंकले २ अर्ब ९० करोड, एभरेष्ट बैंकले १ अर्ब २५ करोड रुपैयाँ, नेपाल एसबिआई बैंकले १ अर्ब २५ करोड रुपैयाँ र सानिमा बैँकले ७५ करोड रुपैयाँ लगानी गर्ने सहमति भएको छ । साथै, २५ प्रतिशत स्वपुँजी प्रवद्र्धकहरूबाट जुटाइने छ ।
उक्त परियोजना आगामी ४ वर्षभित्र निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ भने निर्माण सम्पन्नपश्चात् उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको संखुवासभा स्थित सित्तलपाटी सब स्टेशनमा जोडिने छ ।
कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ७५.०४१ गिगावाट घन्टा र बर्षायाममा १६५.८८८ गिगावाट गरी बार्षिक २४०.९२९ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ ।
प्रवद्र्धक कम्पनी गुराँस हाईड्रो लिमिटेड रं लगानीकर्ता बैँकहरूबीच वित्तीय व्यवस्थापनका लागि मंसिर २४ गते सहवित्तीयकरण कर्जा सम्झौतामा हस्ताक्षर भएको छ । उक्त परियोजना कोशी प्रदेश, संखुवासभा जिल्ला, सिलिचोङ गाँउपालिका र भोजपुर जिल्ला, साल्पा सिलिचाछो गाँउपालिकमा निर्माण हुनेछ ।
सिटिजन्स बैँकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेलले सिटिजन्स बैंकले स्थापनाकालदेखि नै एकल लगानीका आयोजनामा लगानी गर्दै आएको बताए । साथै बैंकको अगुवाई, सहअगुवाई तथा अन्य बैंकहरूसँगको सहवित्तीयकरण कर्जामार्फत् जलविद्युत लगायत हरित उर्जा क्षेत्रमा लगानी गर्दै आएको उनको भनाइ छ । बैंकिङ्ग क्षेत्र एवं स्वतन्त्र उर्जा उत्पादकहरूको संयुक्त लगानीबाट धेरै आयोजनाहरुको निर्माण भई संचालनमा आएका कारण देशको समग्र उर्जा क्षेत्रको विकासमा नीजि क्षेत्रको ठूलो योगदान रहेको उनले बताए ।
हालसम्म निर्माण सम्पन्न भएका १२४.५४१ मेगावाट क्षमताका १३ वटा आयोजना र निर्माणाधिन ५१६.५७४ मेगावाट क्षमताका १६ वटा आयोजनासहित कुल ६४१.११५ मेगावाट क्षमताका २९ वटा आयोजनामा सिटिजन्स बैंकको लगानी रहेको छ । बैंकले हालसम्म १५ वटा हाइड्रो पावर आयोजनामा अगुवाई बैंक, २ वटा हाइड्रोपावर आयोजनामा सहअगुवा बैंक, ९ वटा हाइड्रोपावर आयोजनामा सहभागी बैंक र ३ वटा हाइड्रोपावर आयोजनामा एकल लगानी रहेको छ ।
गुराँस हाइड्रोका अध्यक्ष शिव प्रसाद घिमिरेले आगामी चार वर्षभित्र परियोजना निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको बताए । हालसम्म नेपाल विद्युत प्राधिकरण, विद्युत विकास विभाग, वन तथा वातावरण मन्त्रालय लगायत सरोकारवाला निकायहरुमा गर्नुपर्ने सबै कानूनी प्रक्रिया पुरा गरी सकेकाले आयोजना तत्काल निर्माण कार्य अघि बढ्ने र समयमा सम्पन्न हुने उनले बताए ।