News Portal

  • प्रभु लाइफको ६० करोडको आईपीओ जारी

    आर्थिकसंसार संवाददाता२९ मंसिर, २०७७
    २४१६ पटक
    २९ मंसिर, २०७७

    काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज (मंसिर २९ गते) देखि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता साधारण सेयर (आइपिओ) बिक्री गरिरहेको छ । कम्पनीले जारी गरेको आइपीओमध्ये ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता कर्मचारीको लागि र ३ करोड रुपैयाँ बराबरकै ३ लाख कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरेको छ । त्यसैकारण सर्वसाधारणले भर्न पाउने भनेको ५४ करोड रुपैयाँ बराबरको ५४ लाख कित्ता हो ।
    कम्पनीले जारी गरेको आइपीओ बिक्रीको समय छिटोमा पुस २ गते र ढिलोमा पुस १३ गते सकिनेछ । यो कम्पनीको सेयर खरिद गर्दा के–कस्तो होला भन्ने प्रश्न उठ्न सक्छ । त्यसैले यस्ता प्रश्नको निचोडमा पुग्नुअघि कम्पनीका केही परिसुचक हेर्नुपर्ने हुन्छ ।
    कम्पनीको जारी पुँजी २ अर्ब रुपैयाँ हो । यो पुँजीमध्ये संस्थापक सेयरधनीले १ अर्ब ४० करोड रुपैयाँ हालिसकेका छन् । सर्वसाधारणको लागि ६० करोड रुपैयाँ बराबरको सेयर छुट्टयाइएको छ । कम्पनीमा संस्थापक सेयरधनीको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत सेयर हिस्सा रहनेछ ।
    कम्पनीले प्रकाशित गरेको विवरणपत्रका अनुसार आर्थिक वर्ष २०७३/७४ मा प्रतिसेयर नेटवर्थ १००.०६ रुपैयाँ थियो । यस्तै, २०७४/७५ मा १०३.५९ रुपैयाँ र २०७५/७६ मा १०९.५६ रुपैयाँ छ । आर्थिक वर्ष २०७९/८० मा १३९.३७ रुपैयाँ पुग्ने कम्पनीको प्रक्षेपण छ । आर्थिक वर्ष २०७५/७६ मा कम्पनीको प्रतिसेयर आम्दानी ५.८३ रुपैयाँ छ । आर्थिक वर्ष २०७९/८० मा प्रतिसेयर आम्दानी १३.१४ रुपैयाँ पुग्ने प्रक्षेपण कम्पनीको छ । गत आर्थिक वर्षमा ११ करोड ५९ लाख रुपैयाँ रहेको कम्पनीको संचित आय आर्थिक वर्ष २०७९/८० मा ७१ करोड रुपैयाँभन्दा बढी हुनेछ ।
    वित्तीय दायित्व बहन गर्ने क्षमता औषत
    कम्पनीलाई क्रेडिट रेटिङ्ग संस्था ईक्रा नेपालले बीबीप्लस रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँदछ । सो ग्रेडिङ्गको वैधता अवधि एक बर्ष रहनेछ ।


    ऐतिहासिक पृष्ठभूमि
    यो कम्पनी २०६४ साल असार ८ गते कम्पनी रजिष्टारको कार्यालयमा स्टार लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट पब्लिक लिमिटेडको रुपमा दर्ता भएको हो । कम्पनी रजिष्टारको कार्यालयको मिति २०७४ मंसिर ६ को निर्णयबाट साविकको स्टार लाइफ इन्स्योरेन्सको नाममा रहेको सम्पूर्ण चल अचल सम्पत्ति तथा तिर्नु ब्यहोर्नुपर्ने कर दायित्व आदि परिवर्तित नाम प्रभु लाइफ इन्स्योरन्स लिमिटेडमा सर्ने गरी निर्णय भई प्रभु लाइफ इन्स्योरेन्स कायम भएको हो ।
    कम्पनीलाई बीमा समितिले २०७४ भदौ ७ गते बीमा व्यवसाय कारोबार गर्न इजाजत दिएको थियो । कम्पनीले २०७४ मंसिर २८ गतेदेखि व्यवसायिक कारोबार सञ्चालन गरिरहेको छ । यस कम्पनीको संस्थापकहरु वित्तीय÷बैंकिङ्ग, कानून क्षेत्र, ब्यापार व्यवसाय एवम् व्यवस्थापनमा लामो समयदेखि दखल भएका स्थानीय लब्ध प्रतिष्ठित व्यक्ति तथा व्यवसायीहरु रहेका छन् ।
    सञ्चालन भएका सेवाहरु
    कम्पनीले मिति २०७४ मंसिर २८ देखि विधिवत रुपमा जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएको छ । कम्पनी हाल करिब ३ वर्ष मात्र भएको छ ।
    कम्पनीले सम्बृद्ध (सावधिक) जीवन बीमा योजना, सम्बृद्ध (सावधिक) जीवन बीमा योजना, एकल भुक्तानी (अमूल्य (सावधिक तथा आजीवन) जीवन बीमा योजना, श्रीवृद्घि (सावधिक) जीवन बीमा, जीवन किरण (बाल सावधिक) जीवन बीमा योजना र जीवन उन्नति (बाल अग्रिम भुक्तानी सावधिक) जीवन बीमा योजना सञ्चालन गरिरहेको छ । यस्तै, वैभव (अग्रीम भुक्तानी सावधिक) जीवन बीमा योजना, समुन्नति (अग्रीम भुक्तानी सावधिक) जीवन बीमा योजना, जीवन स्पर्श आवधिक जीवन बीमा योजना र प्रभु म्यादी जीवन बीमा योजना पनि सञ्चालन गरिरहेको छ ।
    एक वर्षे नवीकरणीय म्यादी जीवन बीमा योजना पछिल्लो समयमा बजारमा ल्याइएका ४ वटा योजनामा समुन्नति (अग्रीम भुक्तानी सावधिक), जीवन स्पर्श आवधिक जीवन बीमा योजना, प्रभु म्यादी जीवन बीमा योजना र एक वर्षे नवीकरणीय म्यादी जीवन बीमा योजना रहेका छन् ।
    गत आर्थिक वर्ष २०७६/७७ को बीमा व्यवसायमा सावधिक जीवन बीमासम्बन्धी योजनाहरुको अंश करिब ६८ प्रतिशत, अग्रीम भुक्तानीसम्बन्धी योजनाहरुको अंश १० प्रतिशत र अन्य योजनाहरुको २२ प्रतिशत रहेको छ । कम्पनीले बजारको मागअनुरुप कम्पनीले सावधिक जीवन बीमा योजनाहरुमा नै जोड दिइएको छ ।
    वित्तीय अवस्था
    हालको प्रतिस्पर्धी बीमा बजारमा कारोवार सुरु भएको छोटो अवधिमा पनि कम्पनीको व्यवसायिक तथा वित्तीय अवस्था सन्तोषजनक रहेको छ । कम्पनीले आर्थिक वर्ष २०७४/७५ मा ११ करोड ४४ लाख रुपैयाँ, आव २०७५/७६ मा ४७ करोड ३८ लाख रुपैयाँ र आव २०७६/७७ मा अघिल्लो वर्षको तुलनामा करिब १५३ प्रतिशतले बढेर रु. १ अर्ब १९ करोड ७८ लाख कुल बीमाशुल्क संकलन गर्न सफल भएको थियो । गत आर्थिक वर्षमा २०७६/७७ मा कम्पनीको बजार हिस्सा पनि अघिल्ला वर्षहरुको तुलनामा बढेर करिब १.३ प्रतिशत पुगेको छ । पछि स्थापना भएका नयाँ १० कम्पनीहरुसँगको तुलनामा यस्तो हिस्सा करिब ७ प्रतिशत रहेको छ । मुलुकको अर्थतन्त्रमा विविध उतारचढाव हुँदाहुँदै पनि यस कम्पनीले अवलम्बन गरेको व्यवसायिक रणनीति, संस्थागत सुशासन, पारदर्शीता तथा उच्चस्तरको ग्राहकमुखी प्राविधिक सेवा एवम् सक्षम व्यवसायिक समूहको संलग्नता समेतले गर्दा आफ्नो स्थापनाको छोटो अवधिमा सन्तोषजनक प्रगति गर्न कम्पनी सफल भएको र आगामी दिनहरुमा समेत स्वस्थ्य प्रतिस्पर्धात्मक ढंगबाट बीमा व्यवसाय बढाउँदै लैजान कम्पनी प्रतिबद्ध रहेको विवरणपत्रमा उल्लेख छ ।


    कम्पनीको भावी योजना
    नेपालमा बीमा व्यवसायको विकास गर्न बीमासम्बन्धी जनचेतना अभिवृद्धि गरी हरेक क्षेत्रमा बीमा प्रति आकर्षित गर्दै देशको बीमा क्षेत्रमा सर्वसाधारण, उद्योगी, व्यापारी एवम् विभिन्न संघसस्ंथाहरुसम्ममा बीमा प्रणालीमार्फत सरल, सुलभ र छिटोछरितो तरिकाबाट भरपर्दो एवम गुणस्तरीय बीमा सेवा प्रदान गर्ने तथा निकट भविष्यमा ग्रामीण समुदायसम्म सेवा विस्तार गर्ने, सेवामा विविधिकरण गर्दै जाने तथा थप सेवा विस्तार गर्दै जाने यस कम्पनीको योजना रहेको छ ।
    जीवन बीमा सेवालाई समाजका हरेक तह र तप्काका मानिसहरुसम्म विस्तार गर्न उपयुक्त बीमा योजनाहरु तर्जुमा गरी गुणस्तरीय बीमा सेवा प्रदान गर्ने कार्यमा प्रयासरत रहने । लगानी विविधिकरण गरी औसत आय बृद्धि गर्न तथा बीमितहरुको प्रतिफल बृद्धि गर्न प्रयासरत रहने ।
    – लघु बीमा योजनाको माध्यमबाट आम मानिसमा बीमा सेवा पुरुयाउने ।
    – अन्तर्राष्ट्रिय बजार समेतलाई दृष्टिगत गरी नयाँ बीमा योजनाहरु तर्जुमा गर्दै लैजाने ।
    – कम्पनीको सूचना प्रविधिको विकास र विस्तारलाई थप तीव्रता दिई कार्यक्षमता र सुरक्षामा बृद्धि गर्ने ।
    – बीमितको सेवा प्रणालीमा गुणात्मक बृद्धि गर्न दाबी भुक्तानी प्रक्रियामा सरलीकरण एवम् नवीकरण बीमाशुल्क भुक्तानीको सहज व्यवस्थाका लागि थप बैंकहरुसँग सहकार्य गर्ने तथा विद्युतीय भुक्तानी संयन्त्रमा जोड दिने । कर्मचारी तथा अभिकर्ताहरुको पेशागत दक्षता अभिबृद्धिका कार्यक्रमहरु तर्जुमा गर्ने ।
    – नयाँ बीमा कम्पनीहरुको प्रवेशबाट उत्पन्न हुने प्रतिस्पर्धाबाट हुनसक्ने जोखिमहरु, बीमा कम्पनीले प्रदान गरेको तथा भविष्यमा प्रदान गरिने बीमा सेवाबाट हुन सक्ने जोखिम, देशको राजनीतिक परिस्थितिबाट आउन सक्ने जोखिमहरु, देशको आर्थिक अवस्थामा आउने उतारचढावबाट हुन सक्ने जोखिमहरु, नेपाल सरकारको आर्थिक नीति तथा नियामक निकायबाट जारी हुने निर्देशनमा हुने परिवर्तनबाट सिर्जना हुनसक्ने जोखिमहरु, बीमा बजारको अवस्थामा आउने उतारचढावबाट पर्न सक्ने जोखिमहरु, अन्तर्राष्ट्रिय बजारमा हुने मन्दीबाट नेपालको बजारमा पर्न सक्ने असरबाट हुनसक्ने आर्थिक जोखिमहरु, देशको मौद्रिक नीतिलगायत नेपाल राष्ट्र बैंक तथा बीमा समितिले जारी गर्ने नीति, नियम र निर्देशनको अप्रत्याशित परिवर्तनबाट सिर्जना हुने सम्भावित जोखिमहरुलगायत सम्पूर्ण जोखिमहरुको गहन अध्ययन र विश्लेषण गरी उक्त जोखिमहरु न्यूनीकरण गर्दै जाने रणनीति रहेको छ ।
    कम्पनीको शाखा तथा उपशाखाहरू


    सञ्चालक समिति
    कम्पनीमा एक महिलासहित ७ जनाको सञ्चालक समिति हुनेछ । सो समितिको समूहगत प्रतिनिधित्व देहायबमोजिम हुनेछ समूह क संस्थापक समूहका शेयरधनीबाट निर्वाचित ४ जना, समूह ख सर्वसाधारण समूहका शेयरधनीबाट निर्वाचित २ जना र स्वतन्त्र सञ्चालक १ जना सञ्चालक रहने छन् । सञ्चालकहरुको कार्यकाल ४ वर्षको हुनेछ ।
    जोखिम
    धितोपत्रमा गरिने लगानीमा जोखिम हुने भएकाले त्यस्तो जोखिमको मूल्याकन गर्ने प्रमुख दायित्व लगानीकर्ता स्वयंको हुनेछ र धितोपत्रको निष्काशन मूल्यले सूचीकरण पश्चात धितोपत्र बजारमा हुने कारोबार मूल्य नजनाउने हुँदा कम्पनीको विवरणपत्रमा उल्लेखित जोखिमहरुसमेतको अध्ययन गरेर मात्र लगानीसम्बन्धी निर्णय लिनु हुन सम्पूर्ण लगानीकर्तामा सुझाव गरिन्छ ।

    प्रतिकृया दिनुहोस्