
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
मंसिर २८ गते साँझ बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । बैठकले सेयरधनीलाई १९ प्रतिशत बोनस र १ प्रतिशत नगद गरी २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
दोस्रो बजारमा सूचीकृत भएको पहिलो वर्षमा नै संस्थाले दोहोरो अंकको दरले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंक तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।
विगत तीन वर्षअघिदेखि सञ्चालनमा आएको संस्थाले गत असारमा साधारण सेयर जारी गरी साउनदेखि दोस्रो बजारमा प्रवेश गरेको हो ।
हाल कम्पनीको चुक्ता पुँजी २१ करोड ७७ लाख रुपैयाँ रहेको छ । १९ प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी २५ करोड ९० लाख रुपैयाँ नाघ्ने छ ।