News Portal

  • २०औं समावेशी अन्तर्राष्ट्रिय बीमा सम्मेलन सुरु, चार सय बढीको सहभागिता

    आर्थीकसंसार संवाददाता६ कार्तिक, २०८१
    १० पटक
    ६ कार्तिक, २०८१

    काठमाडौं । समावेशी बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (आईसीआईआई) मंगलबारबाट काठमाडौंमा सुरु भएकाे छ ।

    नेपाल बीमा प्राधिकरण, नेपाल बीमक संघ, जीवन बीमक संघ र नेपाल माइक्रोइन्स्योरेन्स एसोसिएसनद्वारा म्युनिख रे फाउण्डेशन तथा माइक्रोइन्स्योरेन्स नेटवर्कसँगको सहकार्यमा सम्मेलन सुरु भएकाे हाे ।

    सम्मेलनकाे याे २०औं संस्करण हो ।

    सम्मेलनमा न्यून आय भएका तथा जोखिममा रहेका परिवारहरू तथा लघु, साना र मझौला उद्योगलाई केन्द्रित गरी समावेशी बीमालाई परिष्कृत गर्नेलगायतका विषयमा विस्तृत छलफल हुने आयाेजकले जनाएकाे छ ।

    यसैगरी, जलवायु जोखिम बीमा, लघुबीमामा डिजिटल प्रविधि अवलम्बन र समावेशी बीमाका क्षेत्रका आइपर्ने अवरोधहरु हटाउनेसम्बन्धी रणनीतिहरूलगायतका विषयमा सहभागीहरूबीच छलफल केन्द्रित हुनेछ ।

    सम्मेलनका विभिन्न सत्रहरूमा जलवायु परिवर्तन र प्रकोप जोखिम वित्त व्यवस्थापन, बीमा क्षेत्रका चुनौती तथा अवसरहरू, बीमाको अन्तर र बीमाको पहुँच विस्तारमा डिजिटल प्रविधिको विकास एवम् अवलम्बन जस्ता मुख्य विषयहरूमा विभिन्न कार्यपत्र प्रस्तुतिका साथै कार्यपत्रहरूमाथि छलफल हुने कार्यक्रम पनि रहेको छ ।

    सम्मेलनमा नेपाल लगायत विभिन्न देशका बीमा क्षेत्रका नियामक निकाय, विभिन्न निकाय, विकास साझेदार, गैरसरकारी संस्था र बीमा क्षेत्रका विज्ञहरू गरी चारसयभन्दा बढीको सहभागिता रहेको छ ।

    समाजमा आर्थिकरूपमा पछाडि परेका वर्ग र लघु, साना तथा मझौला उद्योगहरूको वित्तीय जोखिम न्यूनीकरणका लागि समावेशी बीमालाई अगाडि बढाउने सम्बन्धमा सम्मेलन कोशेढुङ्गा सावित हुने विश्वास गरिएको छ ।

    सम्मेलन कात्तिक ९ गतेसम्म हुनेछ ।

    प्रतिकृया दिनुहोस्