News Portal

  • बाढी पीडित बीमितको दाबी भुक्तानी छिटो गर्न अध्यक्ष सिलवालको निर्देशन

    आर्थीकसंसार संवाददाता१३ असोज, २०८१
    ३३ पटक
    १३ असोज, २०८१

    काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बाढीमा क्षति भएको दाबीलाई यथासीघ्र भुक्तानी गर्न निर्देशन दिएका छन् । बाढी पहिरोबाट नागरिकको घर, सम्पत्ति तथा संरचनाहरूमा भएको क्षतिको बीमा दाबी भुक्तानी यथासम्भव छिटो गर्न बीमा कम्पनीहरूलाई उनले निर्देशन दिएका हुन् ।

    बाढी तथा पहिरोबाट भएको क्षतिको बीमा दाबीलाई सरलीकरण गर्ने र छिटो दाबी भुक्तानी गर्ने सम्बन्धमा आइतबार नेपाल बीमा प्राधिकरणमा आयोजित निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसँगको छलफलमा अध्यक्ष सिलवालले बीमा कम्पनीहरूले दाबी भुक्तानी दिँदैनन् भन्ने भ्रमलाई हटाउन पनि बीमा कम्पनीहरूले छिटो दाबी भुक्तानी दिनुपर्ने बताए ।

    अध्यक्ष सिलवालले हाल विशेष परिस्थिति भएकाले सामान्य अवस्थामा आवश्यक पर्ने दाबी भुक्तानी सम्बन्धी कागजातहरूमध्ये प्रहरी प्रतिवेदन र सम्बन्धित निकायको सिफारिस लगायतका कागजातहरू आवश्यक नपर्ने व्यवस्था मिलाइने, अन्य कागजातहरूको सूची समेत छोटो पारिने र बीमा सर्भेयरहरूलाई तोकिएकै समय सीमाभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिने जानकारी दिए ।

    अध्यक्ष सिलवालले हालको विशेष परिस्थितिमा बीमा दाबी विस्तारै थपिँदै जानसक्ने र बाढी तथा पहिरोका कारण बीमालेख हराएको पनि हुनसक्नेतर्फ बीमा कम्पनीहरूले ध्यान दिनुपर्ने बताए ।

    कार्यक्रममा निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले हालैको बाढी र पहिरोको कारण क्षति भएका जलविद्युत कम्पनी, गोदाम, पसल, मोटर, मोटरसाइकल सम्बन्धी बीमा दाबीहरू बीमितहरूबाट धमाधम आउन थालेको जानकारी दिए । दाबी आउने क्रम जारी रहेकाले अहिले के कति दाबी पेस हुन्छ भन्ने बारे यकिन डाटा उपलब्ध नभएको उनीहरुको भनाइ छ ।

    जलविद्युत आयोजनाहरुमा मात्रै २ अर्ब ४५ करोड रुपैयाँ बढीको क्षति भएको प्रारम्भिक अनुमान रहेको उर्जा मन्त्रालयले जनाएको छ । मन्त्रायका अनुसार २२ सय मेगावाटका जलविद्युत आयोजनाबाट विद्युत उत्पादन नै बन्द भएको छ । जलविद्युतको बीमा गर्दा उत्पादन बन्द हुँदाको क्षतिपूर्ती पनि बीमा कम्पनीले कभरेज गर्ने टर्म एण्ड कण्डिसन हुन्छ । यदि यक्त कभरेज पनि पर्नेगरी बीमा गरिएको खण्डमा मात्र सोको पनि क्षतिपूर्ति बीमा कम्पनीले दिने गर्दछ ।

    यसरी सरसर्ती हेर्दा जलविद्युत आयोजनाबाट मात्रै बीमा कम्पनीहरुमा ३ अर्ब बढीको दाबी पेस हुने अनुमाग गर्न सहिन्छ । यस्तै, गोदाम, पसल, मोटर, मोटरसाइकल र कृषि, पोर्टफोलियोको दाबी कति आउँछ आँकलन अहिले नै सकिने अवस्था छैन ।

    प्राधिकरणकी निर्देशक पुजन ढुंगेलले बीमा कम्पनीहरुले जति दाबी आए पनि भुक्तानी गर्नुपर्ने भएकाले त्यसका लागि तयार हुन प्राधिकरणले सचेत गराएको बताइन् । उनले भनिन्, ‘बाढी पीडित बीमितले दाबी पेस गर्दै गर्छन, कम्पनीले भुक्तनी दिँदै जाने हो । अहिले भनेको भुक्तानीमा कम्पनीहरु सहज बन्नु पनै बेला हो ।’

    उनका अनुसार अहिले बीमा कम्पनीहरुले दाबी भुक्तानी दिँदैनन् भन्ने भाष्य तोड्ने बेला हो

    साथै कम्पनीहरूले हाल विशेष परिस्थिति सिर्जना भएकाले बीमा दाबी प्रक्रियालाई सरलीकरण गर्न, निश्चित दाबी भुक्तानीका लागि न्यून कागजात भए हुने व्यवस्था गर्न र सर्भे प्रतिवेदनलाई छिटोछरितो तुल्याउनका लागि आवश्यक सहजीकरण गर्न प्राधिकरणसँग आग्रह गरे ।

    प्रतिकृया दिनुहोस्