News Portal

  • युवाका लागि स्टार्टअप आईडिया कल कार्यक्रम सुरु

    आर्थीकसंसार संवाददाता२४ मंसिर, २०७७
    २४८४ पटक
    २४ मंसिर, २०७७

    काठमाडौं । नविनतम सोचका साथ उद्यमी बन्न चाहने युवाका लागि नवप्रर्वतन प्रस्ताव आह्वान (स्टार्टअप आईडिया कल) कार्यक्रम सुरु भएको छ । काठमाडौंमा आयोजित उद्घाटन सत्रमा वेबसाइट र भिडियो सन्देशमार्फत पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरेका हुन् ।
    सरकार, वित्तीय संस्था र नीति क्षेत्रबीच त्रिपक्षीय सहमतिअनुसार बागमती प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय बाणिज्य बैंक र विशाल फाउण्डेशनले संयुक्त रुपमा नवप्रवद्र्धन प्रस्ताव आह्वान (स्टार्टअप आईडिया कल) कार्यक्रम सुरु गरेका हुन् । उद्घाटन मन्तव्य राख्दै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले व्यवसाय सफल नहुने मुख्य कारण सम्पूर्ण पक्षहरुबीच तालमेल नहुनु हो भन्नु हुँदै उत्पादन, श्रम, पुँजी, बजार र नीतिबीच तालमेल भए मात्र व्यवसाय सफल हुने बताए । नेपालमै बसेर स्वरोजगार बन्छु भन्नेका लागि यो कार्यक्रम निकै उपयोगी हुने उनको भनाइ थियो ।
    आयोजकका अनुसार २०७७ माघ महिना भरी उद्यमी बन्न चाहने युवाका लागि नविनतम प्रवद्र्धन प्रस्ताव (स्टार्टअप आइडिया कल)को www.startupideacall.org वेबसाइटमार्फत नवप्रवद्र्धन प्रस्ताव आह्वान गरी संकलन गर्ने, उत्कृष्ट आइडिया पठाउने युवाहरुलाई उद्यमशीलतासम्वन्धी निःशुल्क तालिम प्रदान गरी राष्ट्रिय बाणिज्य बैंकमार्फत बढीमा तीन प्रतिशत ब्याजदरमा अधिकतम १५ लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा लगानी गरिने छ ।
    कार्यक्रममा बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माननीय अरुण नेपालले बागमती प्रदेशभित्र व्यवसाय गर्ने दुई सय युवाहरुलाई लगानी गरिने बताए । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले यो कर्जा एकदमै सस्तो र सरल किसिमले पाउने भएकाले सदुपयोग गरी व्यवसाय गर्न आग्रह गरे । नवप्रवद्र्धन प्रस्ताव आह्वान, तालीम सञ्चालन र सहुलियतपूर्ण कर्जा प्रवाह कार्यक्रमको समन्वय गरिरहेको विशाल फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत विशाल गैरेले त्रिपक्षीय सहकार्यमा निकट भविष्यमा यो कार्यक्रम अन्य प्रदेशमा पनि लैजाने बताए ।
    नयाँ नयाँ आइडिया भएर पनि कहाँ जाने, कसलाई भेट्ने, लगानी कसरी खोज्ने, तालिम कसरी लिने भनेर दुविधामा भएका युवाहरुलाई माघ महिनासम्ममा आइडिया पठाउने युवाहरुलाई गरी फागुन र चैत्र महिनामा तालीम प्रदान गरी सहुलियतपूर्ण कर्जा प्रवाह हुने छ । नेपालमा उद्यमी बन्न चाहने युवाका लागि यो स्टार्टअप आइडिया कल निकै उपयोगी हुने विश्वास लिइएको छ ।
    कार्यक्रममा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा योजना मन्त्री माननीय कैलाप्रसाद ढुङ्गेल, राष्ट्रिय सभाका सांसद डा. बिमला राई पौडेल, बागमती प्रदेश सरकारका सचिव डा. सिन्धुप्रसाद ढुङ्गाना, विशाल फाउण्डेशनका अध्यक्ष नरेशप्रसाद श्रेष्ठले नयाँ नेपाल निर्माणका लागि यो कार्यक्रमको सफलताको लागि शुभकामना दिए । कार्यक्रममा युवा उद्यमी तथा सरोकार पक्षहरुको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्