News Portal

  • साना तथा मझौला उद्योगका लागि वित्तीय र बजार पहुँचको खाँचो छ : अध्यक्ष ढकाल

    आर्थीकसंसार संवाददाता७ भदौ, २०८१
    १८ पटक
    ७ भदौ, २०८१

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाललाई प्रमुख पर्यटकीय गन्तव्यको रूपमा प्रस्तुत गर्दै पर्यटन पूर्वाधारमा थप लगानीको आवश्यकता औंल्याएका छन् ।

    सोमबार बैंककमा आयोजित ३७औं एशियन ट्रेड प्रमोशन फोरममा बोल्दै उनले विदेशी लगानीकर्ताहरुलाई होटल, थीम पार्क र साहसिक पर्यटन गन्तव्यहरू जस्ता क्षेत्रमा सम्भावनाहरू रहेको जानकारी गराए ।

    उनले नेपालमा रिसोर्टहरूको बढ्दो मागको चर्चा गर्दै यस क्षेत्रमा साझेदारीको अवसर रहेको बताए ।

    अध्यक्ष ढकालले नेपालको सूचना तथा सञ्चार प्रविधि र चलचित्र उद्योगमा लगानीका अवसरहरू रहेको कुरामा पनि जोड दिएका छन् ।

    उनले हस्तकलाका उत्पादनहरू, संगीत, चलचित्र र डिजिटल कला जस्ता क्षेत्रहरूमा उल्लेखनीय वृद्धि भएको, र यसले आर्थिक विकासमा मात्र नभई नेपालको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षणमा पनि योगदान पुर्‍याएको जानकारी गराए ।

    नेपालको सूचना तथा सञ्चार प्रविधि उद्योगमा रहेको अवसरहरूको चर्चा गर्दै अध्यक्ष ढकालले देशको युवा र ऊर्जावान जनसंख्याले यो क्षेत्रमा योगदान गरिरहेको बताए ।

    तर, यस क्षेत्रको पूर्ण क्षमता उपयोग गर्न साना तथा मझौला उद्योगहरूका लागि वित्तीय पहुँच, क्षमता निर्माण र बजार पहुँचको खाँचो रहेको उनले औंल्याए ।

    अध्यक्ष ढकालले नेपालले विदेशी लगानीकर्ताहरूका लागि प्रदान गर्ने रणनीतिक फाइदाहरूलाई पनि औंल्याए ।

    उनले नेपालले हालसालै लगानीसम्बन्धी आठ कानुनहरू संशोधन गरेको र विदेशी लगानीलाई सहजीकरण गर्न द्विपक्षीय लगानी सम्झौताको संरचना पारित गरेको पनि जानकारी दिए ।

    अध्यक्ष ढकालले नेपालको जलविद्युत क्षेत्रको बढ्दो सम्भावनाको पनि चर्चा गरेका थिए ।

    प्रतिकृया दिनुहोस्