News Portal

  • अर्थ र स्वास्थ्य मन्त्रालयबीच छलफल, भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माण गरिने

    आर्थीकसंसार संवाददाता३ असोज, २०८१
    ९ पटक
    ३ असोज, २०८१

    काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको छ ।

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसहित अर्थ मन्त्रालयमा बसेको बैठकमा अत्याधुनिक र सुविधा सम्पन्न वीर अस्पताल निर्माणको विस्तृत परियोजना प्रस्ताव तयार पार्ने परामर्शदाताका लागि अन्तर्राष्ट्रिय रुपमा प्रस्ताव आह्वान गर्ने सहमति भएको छ ।

    परामर्शदाताले नेपालको आवश्यकताअनुसारको विस्तृत परियोजना प्रस्ताव तयार पारेपछि भक्तपुरको दुवाकोटमा अत्याधुनिक र सुविधा सम्पन्न अस्पताल निर्माण कार्यलाई अघि बढाउने सहमति भएको छ ।

    अर्थमन्त्री पौडेलले नेपालीले विदेशमा उपचार गर्न जानु नपर्नेगरी सबै प्रकारको सुविधा उपलब्ध भएको अन्तर्राष्ट्रिय स्तरको अस्पताल निर्माण गर्न आवश्यक भएको बताए ।

    स्वास्थ्य मन्त्री पौडेलले परामर्शदाता छनौट र अस्पताल निर्माण प्रक्रिया अघि बढाउने बताए ।

    बैठकमा निर्माण सम्पन्न भइ सञ्चालन हुन बाँकी रहेका आधारभूत अस्पतालहरूको सञ्चालन, स्वास्थ्य बीमा लगायतका विषयमा छलफल भएको थियो।

    २०७३ सालमा सरकारले भक्तपुरको दुवाकोटमा विस्तारित वीर अस्पताल निर्माणका लागि करिब ७ सय रोपनी जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो ।

    प्रतिकृया दिनुहोस्