News Portal

  • भन्साररहित सुविधाको निरन्तरताका लागि सरकार र निजी क्षेत्रले संयुक्त रूपमा काम गर्नुपर्छ: ढकाल

    आर्थीकसंसार संवाददाता२६ भदौ, २०८१
    ११६ पटक
    २६ भदौ, २०८१

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अमेरिकामा निर्यात बढाउन भन्साररहित सुविधाको निरन्तरता हुनुपर्ने बताएका छन् ।

    महासंघ, तयारी पोशाक संघ, नेपाल अमेरिका चेम्बर अफ कमर्श, युएसएड र निर्यात महासंघले संयुक्त रूपमा आयोजना गरेको नेपाल-अमेरिका व्यापार र लगानी अवसर र चुनौती विषयक कार्यक्रममा उनले उक्त धारणा राखेका हुन् ।

    अमेरिकाले सन २०१६ मा भूकम्पपछि ७७ वटा वस्तुमा दिएको भन्साररहित सुविधा आगामी वर्ष सकिन लागेको र आगामी साता आयोजना हुने व्यापार एवं लगानी सम्बन्धी सम्झौता (टिफा ) परिषदको बैठक महत्त्वपूर्ण रहेको उनको धारणा थियो ।

    उक्त बैठकमा सुविधाको निरन्तरता र हाल निलम्बनमा रहेको जिएसपी सुविधाको निरन्तरतालाई प्राथमिकता दिइनुपर्ने अध्यक्ष ढकालको भनाइ थियो ।

    यसैगरी, नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति भैरहेको समयमा भन्साररहित सुविधाको निरन्तरताका लागि सरकार र निजी क्षेत्रले संयुक्त रूपमा काम गर्नुपर्नेमा उनकाे जोड थियो ।

    कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण रावतले निजी क्षेत्रको सुझावअनुरूप अमेरिकासँग छलफल गरिने बताए ।

    प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले अमेरिकामा सुविधाको निरन्तरताका लागि सदन र अन्य सम्बन्धित ठाउँमा पहल गर्ने बताए ।

    महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले अमेरिकामा निर्यात वृद्धि गर्न थप प्रयास गर्न आवश्यक भएको बताए ।

    नेपाल तयारी पोशाक संघका अध्यक्ष पशुपतिदेव पाण्डेले अहिले अमेरिकासँग पैरवी गर्ने उपयुक्त समय भएकाले सरकारले विशेष प्राथमिकता दिनुपर्नेमा जाेड दिए ।

    त्यस्तै, नेपाल–अमेरिका चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका अध्यक्ष किरण साखले निर्यात बढाउनुका साथ साथै व्यापारका लागि सहायता कार्यक्रममा पनि जोड दिनुपर्ने बताए ।

    नेपाल र अमेरिकाबीच सन २०११ मा टिफा सम्झौता भएको थियो । यो सम्झौताको खाका भएको हुँदा द्विपक्षीइ लगानी र व्यापारका लागि सम्झौत गर्नका लागि यसले आधार तयार पार्ने अपेक्षा गरिएको थियो । तर हालसम्म कुनै उपलब्धि हुन सकेको छैन ।

    हाल सुविधा गुम्ने अवस्था आएको हुँदा अमेरिकाको निर्यात घट्न सक्नेमा सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । अमेरिका नेपालको दोस्रो ठूलो निर्यात गन्तव्य हो ।

    प्रतिकृया दिनुहोस्