News Portal

  • सञ्चयकर्तालाई आकर्षित पार्नेगरी काम गर्न कोषलाई अर्थमन्त्रीको निर्देशन

    आर्थीकसंसार संवाददाता२५ भदौ, २०८१
    ५४ पटक
    २५ भदौ, २०८१

    काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर्मचारी सञ्चय कोषले उपलब्धीको कोणबाट सञ्चयकर्तालाई आकर्षित पार्ने गरी काम गर्ने निर्देशन दिएका छन् । मंगलबार कर्मचारी सञ्चय कोषसँगको छलफलमा अर्थमन्त्री पौडेलले यस्तो निर्देशन दिएका हुन् ।

    अर्थमन्त्री पौडेलले कोषले सञ्चयकर्तालाई नोक्शानीको आधारमा नभइ उपलब्धीका आधारमा आकर्षित गर्नेगरी काम गर्न आग्रह गरे । उनले कर्मचारी सञ्चय कोषको सबैभन्दा ठूलो आधार र भविष्य सञ्चयकर्ता भएको भन्दै कोषले सञ्चयकर्ताहरुको विश्वास टुट्न नदिने गरी विश्वासलाई बलियो बनाउँदै लैजान आवश्यक रहेको बताए ।

    कोषले सकेसम्म न्युन जनशक्तिबाट अधिकतम काम गर्न पनि आग्रह गरे । दक्ष र क्षमतावान जनशक्तिलाई लिएर काम गर्न पनि निर्देशन दिए ।

    यस्तै उनले, नेपालमा रोजगारीको पनि आवश्यकता भएपनि अन्य क्षेत्रले रोजगारीको क्षेत्रमा काम गरिरहेको भन्दै प्रविधिको प्रयोग हुने कर्मचारी सञ्चय कोष, बैंक तथा वित्तीय संस्था र अन्य निकायहरु सबैले सकेसम्म कम जनशक्तिबाट धेरै काम गर्न आवश्यक रहेको बताए ।

    संस्थाहरुले जनशक्तिलाई सेवा सुविधा, मर्यादा, इज्जत दिँदै कर्मचारीले आफ्नो भविष्य देख्नेगरी ढोका खोलिदिनुपर्ने बताए । कोषमा ५ सय दरबन्दी धेरै भएपनि अहिले ३७१ जनाले काम गरिराखेको भन्दै थप जनशक्ति थप्न आवश्यक नदेखिएको उल्लेख गरे ।

    ‘कर्मचारी सञ्चय कोष,बैंक तथा वित्तीय संस्था र अन्य निकायहरु सबैले सकेसम्म कम जनशक्तिबाट धेरै काम लिनुपर्छ । उक्त जनशक्तिलाई सेवा सुविधा, मर्यादा, इज्जत दिनुपर्छ । कर्मचारीले आफ्नो भविष्य त्यहाँ खोज्न सक्ने ढोका खोलिदिनुपर्छ’, उनले भने ।

    उनले नयाँ प्रविधिको प्रयोगले जनशक्ति व्यवस्थापन सहज हुँदै आएको बताए । प्रविधिको प्रयोगले थोरै जनशक्तिबाट पनि धेरै काम लिन सकिने भएकाले कोषले सोही बमोजिम काम गर्नुपर्ने जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्