News Portal

  • कोइकाद्वारा बर्दिया जिल्लाकाे समावेशी ग्रामीण विकासका लागि १ अर्ब बढीको सहयोग

    आर्थीकसंसार संवाददाता२५ भदौ, २०८१
    ५६ पटक
    २५ भदौ, २०८१

    काठमाडौं । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले बर्दिया जिल्लाको समावेशी ग्रामीण विकासका लागि ८ मिलियन अमेरिकी डलर (एक अर्ब सात कराेड बीस लाख) सहयोग गरेकाे छ ।

    कोइका र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार समावेशी ग्रामीण विकास परियोजना (आइआरडिपी) मा  हस्ताक्षर गरे।

    कोरिया गणतन्त्र सरकारको तर्फबाट देशीय निर्देशक माेह्युन कोङ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तर्फबाट सहसचिव श्री कालीप्रसाद पराजुलीले हस्ताक्षर गरेका हुन् ।

    कोरिया सरकारले कोइकामार्फत परियोजनाका लागि ८ मिलियन अमेरिकी डलर विनियोजन गरेको छ । परियोजनाको कार्यक्षेत्र बर्दिया जिल्लाका ८ स्थानीय तह हुनेछन् ।

    यस परियोजनाको मुख्य उद्देश्य बर्दिया जिल्लाका समुदायको कृषि उत्पादनको लागि क्षमता अभिवृद्धि, बजार सम्बन्ध स्थापना गरी मूल्य अभिवृद्धिको एकीकरण मार्फत मूल्य शृङ्खलाको स्तरोन्नति गर्ने र पर्यावरणीय पर्यटन पहललाई बढावा दिई दिगो र लचिलो जीविकोपार्जन र स्थानीय अर्थतन्त्रको प्रवर्द्धन गर्नु हाे ।

    कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तर्फबाट सहसचिव कालीप्रसाद पराजुलीले विशेषगरी ग्रामीण क्षेत्रका समुदायको उत्थानमा कृषि उत्पादकत्व अभिवृद्धिको महत्त्वका बारेमा छलफल गरेका थिए ।

    उनले कोरिया गणतन्त्र सरकारप्रति आभार प्रकट गर्दै यस साझेदारीले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।

    उनले यस परियोजनाको सफल कार्यान्वयनका लागि नेपाल सरकारको तर्फबाट पूर्ण सहयोग गर्ने आश्वासन पनि दिए ।

    कार्यक्रममा कोङले यो परियोजना नेपालको ग्रामीण विकासमा कोरियाली ज्ञान र प्रविधि ल्याउने अवसर हुने बताए । उनले नवलपरासीमा पनि यस्तै परियोजनाको सफल कार्यान्वयनको स्मरण गर्दै नवलपरासीबाट सिकेका पाठलाई समीक्षा गर्दै बर्दियाको परियोजनाले थप उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरे ।

    कोइकाको समावेशी ग्रामीण विकास परियोजना सन् २०१६-२०२२ सम्म नवलपरासीमा सफलतापूर्वक कार्यान्वयन भएको थियो । जसबाट नेपालका अन्य भागमा पनि त्यस्ता परियोजनाको आवश्यकता महसुस भएकाले दाेस्राे चरणकाे कृषि र ग्रामीण विकास परियोजना कार्यान्वयनमा ल्याइएको हाे ।

    कार्यक्रममा नेपाल र कोरियाबीचको कूटनीतिक सम्बन्धको ५० वर्ष पूरा भएको स्मरण समेत गरिएको थियो । राजदूत ताय–योङ पार्कले दुई देशबीचको समानताको चर्चा गर्दै विकास सहयोगका लागि नेपाल प्राथमिकतामा रहेको देश भएको बताए । उनले यस परियाेजनाले दुई देशबीचको सहकार्य र मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउने पनि बताए ।

    कोरिया गणतन्त्र सरकारले सन् १९९१ देखि काेइकामार्फत नेपाल सरकारलाई स्वास्थ्य, कृषि, शिक्षा (प्राविधिक), व्यावसायिक तालिम, ग्रामीण विकास र सूचना प्रविधिका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ। सन् २०२३ सम्ममा काेइकाको कुल सहयोग रकम २० करोड अमेरिकी डलर नाघेको छ।

    प्रतिकृया दिनुहोस्