News Portal

  • मिरा बायोटेकले आईपीओ जारी गर्ने, एलिट क्यापिटलसँग कर्पोरेट एड्भाइजरी सम्झौता

    आर्थीकसंसार संवाददाता१९ भदौ, २०८१
    ५९ पटक
    १९ भदौ, २०८१

    काठमाडौं । दक्षिण कोरियाको विश्वप्रसिद्ध बायो फर्मास्युटिकल कम्पनीसँगको सहकार्यमा औषधी उत्पादन गरिरहेको मिरा बायोटेक लिमिटेडले पुँजीवृद्धि गर्नका लागि आईपीओ जारी गर्ने भएको छ ।

    उक्त कार्यलाई अघि बढाउन कम्पनीले एलिट क्यापिटल लिमिटेडसँग कर्पोरेट एड्भाइजरीसम्बन्धी सम्झौतासमेत गरेको छ ।

    सोसम्बन्धी सम्झौतापत्रमा एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्य र मिरा बायोटेकका अध्यक्ष डा. विनोद साहले हस्ताक्षर गरेका छन् ।

    दक्षिण कोरियाको ईयू बायोलोजिक्स कम्पनी लिमिटेड (ईयूबी) सँगको सहकार्यमा अत्याधुनिक प्लान्टमार्फत औषधी तथा भ्याक्सिन उत्पादन गरिरहेको मिरा बायोटेकले भर्खरै सम्पन्न साधारणसभामार्फत कम्पनीलाई प्राइभेटबाट पब्लिक कम्पनीमा परिवर्तन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयसँगै यस कम्पनीले २० प्रतिशत सेयर आमसर्वसाधारणलाई बिक्री गर्ने योजना बनाएको छ ।

    नेपालमा कार्यरत एक सयभन्दा बढी चिकित्सकहरू र फर्मा वैज्ञानिकहरूको पहलमा स्थापित मिरा बायोटेक अन्तर्राष्टियस्तरको क्रोनिक सेगमेन्टका औषधीहरू उत्पादन गर्ने कम्पनी हो । हाल यस कम्पनीले करिब २ दर्जन ब्रान्डका औषधीहरू उत्पादन गरिरहेको छ । यसबाहेक यसले भ्याक्सिन उत्पादनका लागि पनि काम गरिरहेको कम्पनीका सीईओ सुशील पौडेलले जानकारी दिए ।

    हाल ५२ करोड चुक्तापुँजी रहेको यस कम्पनीले चुक्ता पुँजी वृद्धि गर्नका लागि आईपीओ निष्कासन गर्न लागेको हो । एलिट क्यापिटलले ‘रोड टु आईपीओ’ योजनाअन्तर्गत स्टार्टअपदेखि पुराना कम्पनीहरूलाई समेत पब्लिक कम्पनीमा रुपान्तरण, पुँजीवृद्धि र व्यावसायिक प्रवर्द्धनमा परामर्श सेवा दिँदै आइरहेको छ ।

    एलिट क्यापिटलले मिरा बायोटेकलाई पनि आईपीओ निष्कासन अगाडि पुँजी वृद्धि, ब्रान्डिङ र बजारीकरणका लागि वित्तीय व्यवस्थापकीय कार्यमा समेत परामर्श सेवा प्रदान गर्ने जनाएको छ । यसबाहेक आईपीओ निष्कासन प्रयोजनका लागि बिक्री प्रबन्धक र अण्डरराईटरको व्यवस्थापन पनि एलिट क्यापिटलले नै गर्ने सम्झौतामा उल्लेख छ ।

    भक्तपुरको चाँगुनारायणमा आफ्नै जग्गा र भवनमा मिरा बायोटेकको अत्याधुनिक प्लान्ट सञ्चालनमा छ । यसले औषधी व्यवस्था विभागबाट ३० वटा उत्पादनको बजार लाइसेन्स लिएको छ ।

    ईयूबीले मीरा बायोटेकलाई विश्व स्वास्थ्य संगठन कुशल उत्पादन प्रक्रिया (डब्लूएचओ जीएमपी) को मापदण्डअनुसार प्लान्ट डिजाइन, उत्पादन र जीएमपीअनुसार प्रमाणीकरणका लागि प्राविधिक सहयोग प्रदान गर्दै आएको छ । ईयूबीसँगको आबद्धताले गर्दा मीराले आफ्नो उत्पादनका अधिकांश उपकरणहरू दक्षिण कोरियाबाटै खरिद गरेको छ ।

    प्रतिकृया दिनुहोस्