काठमाडौं । बीमा ऐन, २०७९ को दफा ६ पूर्ण रुपमा कार्यान्वयन गर्न नसकेको बीमा प्राधिरणले यस पटक भने सो ऐन पूर्ण रुपमा कार्यान्वय गर्ने तयारी गरेको छ । यसअघि बीमा प्राधिरणमा पुरुष सञ्चालक मात्रै भएपनि यस पटक भने महिला सञ्चालकलाई नै नियुक्त गरेर सो ऐनको दफा ६ पूर्ण रुपमा लागु गर्न लागेको हो ।
५ सदस्यीय सञ्चालक समिति रहने व्यवस्था भएको प्राधिकरणले अब महिला सञ्चालक पाउने भएको हो । ५ सदस्यीय समितिमा एक सञ्चालकले गत साता अवकास पाएका थिए । बीमा विज्ञका रूपमा प्राधिकरणको सञ्चालकमा रहेका कपिलदेव ओली गत साता मात्र ४ वर्षे कार्यकाल पूरा गरेर प्राधिकरणबाट बिदा भएका हुन् । अब उनको स्थानमा महिला सञ्चालक आउने प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले विकासन्युजलाई जानकारी दिए ।
बीमा ऐन, २०७९ को दफा ६ मा प्राधिकरणमा एक जना महिला सञ्चालक रहने व्यवस्था उल्लेख गरिएको छ । बीमा विज्ञका रूपमा २ जना सञ्चालक रहने व्यवस्था छ । त्यसमध्ये एक जना सञ्चाकल महिला हुनुपर्ने ऐनमा उल्लेख छ ।
तर, ऐनमा नै महिला सञ्चालकको परिकल्पना गरिएको भए पनि हालसम्म प्राधिकरणले महिला सञ्चालक पाउन सकेको छैन् । ऐनमा नै भएको व्यवस्था हालसम्म किन लागु भएन भन्ने प्रश्नमा अध्यक्ष सिलवालले भने, ‘हालको सञ्चालक समितिको गठन बीमा ऐन २०४९ ले गरेको हो, त्यसकारण महिला सञ्चालकको उपस्थिति भएन । र, हाल रिक्त रहेको सञ्चालक पदमा महिलाको उपस्थिति हुनेछ ।’
प्राधिकरणको सञ्चालक समितिमा सरकारले नियुक्त गर्ने एक जना अध्यक्ष, सञ्चालक सदस्यका रूपमा अर्थ मन्त्रालयका एक जना सहसचिव, कानुन मन्त्रालयका एक जना सहसचिव र २ जना बीम विज्ञ सदस्यका रूपमा रहने व्यवस्था छ । सोही २ जनामध्ये एक जना महिला अनिवार्य हुनुपर्ने छ ।
बीमा ऐन २०७९ जारी भएको एक वर्ष बितिसक्दा पनि प्राधिकरणले महिला सञ्चालक पाएको भने छैन । अध्यक्ष सिलवालका अनुसार अब भने प्राधिकरणले महिला सञ्चालक पाउने छ ।
अर्थ मन्त्रालयका सहसचिव नारायण प्रसाद रिसाल, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव मान बहादुर अर्याल र सन्तोष रिजाल सञ्चालक समिति सदस्यका रुपमा काम गरिरहेका छन् ।