News Portal

  • भरतपुर अस्पतालले लियो १ अर्ब ८९ करोड बीमा दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता४ भदौ, २०८१
    ४४ पटक
    ४ भदौ, २०८१

    चितवन । स्वास्थ्य बीमाको व्यवस्थापनमा अग्रणी रहेको भरतपुर अस्पतालले बीमा कार्यक्रम लागु भएयता १ अर्ब ८८ करोड ९६ लाख ७८ हजार १ सय ५८ रुपैयाँ प्राप्त गरेको छ । यो अवधिमा बीमितले १० लाख ३५ हजार १ सय १५ पटक सेवा पाएका छन् ।

    सेवा दिएबापत अस्पतालले बीमा बोर्डबाट सो रकम प्राप्त गरेको हो । अस्पतालको स्वास्थ्य बीमा कार्यक्रमका इञ्चार्ज लीलाधर पौडेलका अनुसार विसं २०७४ भदौ १ गतेदेखि भरतपुर अस्पतालमा बीमा कार्यक्रम लागु भएको हो ।

    पहिलो वर्ष ३२ हजार ६ सय २ पटक सेवा दिइएको थियो । त्यसबापत अस्पतालले बीमा बोर्डबाट १ करोड २८ लाख ९२ हजार २ सय २० रुपैयाँ प्राप्त गरेको थियो । आर्थिक वर्ष २०७५÷७६ मा १ लाख १२ हजार ९ सय ९१ पटक सेवा दिएबापत अस्पतालले १४ करोड ५७ लाख २८ हजार २ सय २२ रुपैयाँ प्राप्त गरेको थियो ।

    इञ्चार्ज पौडेलका अनुसार आव २०७६/७७ मा १ लाख १४ हजार ८ सय ५२ पटक सेवा दिएर २३ करोड ८८ लाख ४ सय ५० रुपैयाँ प्राप्त गरेको थियो । आव २०७७/७८ मा कोभिडका कारण सेवा लिनेको संख्या घटेर ८५ हजार ५ सय ३६ पटक मात्रै सेवा लिएका छन् । त्यसबापत अस्पतालले ९ करोड ७२ लाख ५२ हजार १ सय ८१ रुपैयाँ प्राप्त गरेको थियो ।

    आव २०७८/८९ बाट बीमामार्फत उपचार गराउनेको सङ्ख्या पुनः बढेको छ । सो वर्ष १ लाख ७८ हजार ५ सय ५३ पटक सेवा लिइएको थियो । त्यसबापत अस्पतालले ३० करोड ७९ लाख ७४ हजार ५ सय १२ रुपैयाँ प्राप्त गरेको थियो ।

    आव २०८९/८० मा २ लाख ५० हजार ६ सय १७ पटक सेवा दिएर अस्पतालले ५२ करोड ५३ लाख ३७ हजार ५ सय १२ रुपैयाँ प्राप्त गरेको छ । गएको आवमा २ लाख ६० हजार पटक सेवा दिएर अस्पतालले ५६ करोड १६ लाख ८८ हजार ७ सय ५९ रुपैैयाँ प्राप्त गरेको छ । अस्पतालले अझै १५ करोड रुपैयाँ हाराहारी दाबी गरेको रकम भुक्तानी पाउन बाँकी रहेको छ ।

    अस्पतालमा आउने बिरामीमध्ये ७० प्रतिशतभन्दा बढी बीमाका हुने गर्दछन् । सोहीअनुरूप अस्पतालमा उठ्ने सेवा शुल्क पनि हुने गर्दछ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्राडा कृष्णप्रसाद पौडेलका अनुसार स्वास्थ्य बीमाको सेवा अस्पतालमा राम्रो भएकाले आकर्षण बढ्दो छ । करिब १८ भन्दा बढी जिल्लाका बीमाका बिरामी यहाँ उपचारका लागि आउने गर्दछन् ।

    चितवनसहित गोरखा, तनहुँ, नवलपरासी र मकवानपुरका कतिपय पालिकाका सेवाग्राहीले भरतपुर अस्पताललाई बीमाको प्रथम बिन्दु बनाएका छन् । नेपालमा विसं २०७२ चैत २५ गते कैलालीबाट स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको हो । अहिले नेपालका ७७ जिल्लामा यो कार्यक्रम लागु छ ।

    देशभरिका ४ सय ७६ स्वास्थ्य संस्थामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा रहेको छ । प्राडा पौडेलले स्वास्थ्य बीमा कार्यक्रम सामाजिक सुरक्षाको एक महत्वपूर्ण कार्यक्रम भएको जनाउँदै भरतपुर अस्पतालको मुख्य आम्दानीको स्रोत बीमा नै भएको बताए ।

    बीमा कार्यक्रमलाई अझै प्रभावकारी बनाउँदै लैजान अस्पताल प्रशासन लागेको उनको भनाइ छ । यद्यपि, अहिले स्वास्थ्य बीमा कार्यक्रम लागु भएका अस्पतालमध्ये भरतपुर अस्पताल उत्कृष्ट रहेको जनाउँदै पौडेलले अस्वीकृत निकै न्यून रहेको जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्