News Portal

  • कुलमानलाई ऊर्जामन्त्रीको जवाफ- उद्योगको लाइन काट्नु घाँटी काट्नु सरह हो

    आर्थीकसंसार संवाददाता१ भदौ, २०८१
    ३८ पटक
    १ भदौ, २०८१

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले डेडिकेटेड ट्रंकलाइनको बक्यौता नतिर्ने उद्योगहरूमा विद्युत् काट्नु नहुने बताएका छन् ।

    शनिबार नेपाल विद्युत प्राधिकरणको ३९औं वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री खड्काले डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम नतिर्ने उद्योगहरूको विद्युत काट्नु नहुने बताएका हुन् ।

    उनले सरकारले उद्योगीहरूले विद्युत उपभोग गरेको रकम तिर्नुपर्दैन नभनेको भन्दै तिर्ने कुरा न्यायोचित छ वा छैन भन्ने कुराको जिम्मेवारी राज्यले लिनुपर्ने बताए । उनले बक्यौता रकम नतिर्ने उद्योगहरूलाई दण्ड, सजाय र जरिवाना गर्ने विकल्प हुँदाहुँदै एकैचोटी विद्युत काट्नु नहुने बताए ।

    उद्योगको लाइन काटेर बस्नु भनेको एउटा घाँटी काट्नुसरह भएको भन्दै मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई उद्योगको लाइन नकाट्न निर्देशन दिए ।

    मन्त्री खड्काले ऊर्जा क्षेत्रले नै देशलाई समृद्ध बनाउने भन्दै सोही अनुरूप ऊर्जा क्षेत्रको स्रोत, साधन परिचालनमा सरकार लागेको बताए । उनले विद्युतको बढी उत्पादन भएसँगै उपभोगलाई पनि बढाउनुपर्ने जिकिर गरे ।

    विद्युतको उपभोगलाई बढाउनका लागि बढी उपभोग गर्नेहरूलाई सहुलियत दिनुपर्ने उनको भनाइ थियो । उनले देशका सबै ठाउँमा चार्जिङ स्टेसन राख्नुपर्ने भन्दै नीतिगत रूपमा मिलाएर यसमा निजी क्षेत्रलाई सहभागी गराउनुपर्ने बताए ।

    कार्यक्रममा बोल्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले सरकारले नेपालभर विद्युतीय ट्याक्सी सञ्चालन गर्नेबारे सोचिरहेको बताए । उनले विद्युत् प्रसारण गर्ने तार कहीँ कतै पनि सिधा नदेखिएको भन्दै कसको कमजोरी हो ? भनेर प्रश्न गरे ।

    विद्युतका खम्बाहरू पनि अव्यवस्थित रूपमा गाडिएको बताउँदै तामाङले विद्युत्को तार र खम्बाहरू अव्यवस्थित रूपमा राखिएको पाए सम्बन्धित शाखाका कर्मचारीहरूलाई विभागीय कारबाही गर्ने चेतावनी दिए । उनले विद्युत प्राधिकरण नाफामा गयो भनेर धेरै बोनस नबाँड्न पनि प्राधिकरणलाई आग्रह गरे ।

    प्रतिकृया दिनुहोस्