काठमाडौं । ग्लोबल आइएमई बैंकका ६ ठूला सेयरधनीमध्ये एक रहेको मङ्गल कलश इन्भेष्टमेन्ट प्रालिले आफ्नो स्वामित्वमा रहेको करिब २१ लाख कित्ता संस्थापक सेयर बिक्री गरेको हो ।
आइतबार बैंकको २० लाख ७५ हजार १०२ कित्ता संस्थापक सेयर प्रतिकित्ता १ सय रुपैयाँका दरले खरिदबिक्री भएको छ । नेपाल स्टक एक्सचेञ्जमा आइतबारको कारोबारमा ग्लोबल आइएमई बैंकको संस्थापक सेयर सर्वाधिक कारोबारको सूचीमा छ ।
नेप्सेका अनुसार बैंकको उक्त सेयर क्रिष्टल कञ्चनजंघा सेक्यूरिटिज प्रालि र सुमेरी सेक्युरिटिज प्रालिबाट खरिद बिक्री भएको छ । बैंकको संस्थापक सेयर दिनभरिमा ६ पटक खरिदबिक्री हुँदा २० करोड ७५ लाख १० हजार २ सय रुपैयाँ बराबरको कारोबार भएको नेप्सेको तथ्याङ्क छ ।
नेप्सेमा कारोबार भएको उक्त संस्थापक सेयर मङ्गल कलश इन्भेष्टमेन्ट प्रालिले बेचेको स्रोतले बताएको छ । मङ्गल कलश साविक लुम्बिनी बैंकको सबैभन्दा ठूलो संस्थापक सेयरधनी थियाे। साविक बैंक अफ काठमाण्डू (बिओके)मा लुम्बिनी बैंक विलय भएपछि बिओकेमा मङ्गल कलश इन्भेष्टमेन्ट दोस्रो ठूलो सेयरधनी थियो ।
साविक बिओकेमा मङ्गल कलशको ३.०४ प्रतिशत अर्थात् ३२ लाख ३० हजार ४३७ कित्ता सेयर स्वामित्व थियो । तर, ग्लोबल आइएमई बैंकसँग बिओके मर्जभएपछि मङ्गल कलशको हैसियत छैटौं नम्बरमा झरेको छ । बैंकमा यस कम्पनीको १.२४ प्रतिशत अर्थात् ४४ लाख ३० हजार ५४ कित्ता सेयर स्वामित्व छ ।
मङ्गल कलश इन्भेष्टमेन्ट प्रालिका मालिक महेन्द्रकृष्ण श्रेष्ठ हुन् । उनी हिमालयन एभरेष्ट इन्स्योरेन्सका अध्यक्ष हुन् । यस कम्पनीको दर्ता कार्यालय श्रेष्ठको निवास ललितपुर १० स्थित पुल्चोकमा रहेको छ ।
आइतबार ग्लोबल आइएमई बैंकको सेयर प्रतिकित्ता २ सय रुपैयाँभन्दा बढीमा कारोबार भएको छ । तर, मङ्गल कलशले प्रतिकित्ता १ सय रुपैयाँमा सेयर बेचेको छ । साधारण सेयर मूल्यको आधाभन्दा कम मूल्यमा संस्थापक सेयर कारोबार भएकोमा कर छलीको आशंका समेत गरिएको छ । तर श्रेष्ठका दाजुभाईले अंशवण्डा गरेपछि उक्त सेयर कम्पनीको नामबाट व्यक्तिको नाममा नामसारी भएको मङ्गल कलश इन्भेष्टमेन्टको दावी छ ।