News Portal

  • आइएमई समूहको ६६.३ मेवाको मध्य काली गण्डकी जलविद्युत आयोजनामा जुट्यो लगानी

    आर्थीकसंसार संवाददाता७ असार, २०८१
    २३ पटक
    ७ असार, २०८१

    काठमाडौं । आइएमई समूहको कम्पनी हाइड्रो सपोर्टमार्फत म्याग्दीको अन्नपूर्ण गाउँपालिका कालीगण्डकी नदीमा निर्माण गर्न लागिएको ६६.३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन गर्न सहवित्तीयकरणका बैंकहरु र प्रवर्द्धक कम्पनीले ऋण सम्झौतामा हस्ताक्षर गरेका छन्।

    सम्झौतामा हाइड्रो सपोर्टका तर्फबाट आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंकका तर्फबाट सहवित्तीयकरणको लिड बैंक नबिल बैंकका प्रमुख कार्यकारी ज्ञानेन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन्। सहवित्तीयकरणका बैंकहरुको अगुवाइ नबिल बैकले गरेको छ भने अन्य सहभागी बैकहरुमा एभरेष्ट बैंक, नेपाल इन्भेस्टमेन्ट मेघा बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैक छन्।

    निर्माण अवधिको ब्याजबाहेक १२ अर्ब ९३ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजनामा ७५ प्रतिशत ऋणबाट र २५ प्रतिशत स्वपुँजी (इक्विटी)बाट जुटाइएको छ। इक्विटीमा आइएमई समूह र सर्वसाधारणको लगानी रहनेछ।

    सहवित्तीयकरणका बैंकहरुले आयोजनामा निर्माण अवधिको ब्याजसहित ११ अर्ब १२ करोड रुपैयाँ ऋण लगानी गर्नेछन्। कुल ऋणमध्ये नबिल बैंकको ३ अर्ब १२ करोड, एभरेष्ट बैक र नेपाल इन्भेष्टमेन्ट मेघा बैंक प्रत्येकले २ अर्ब र नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैक र प्रभु बैंक प्रत्येकले १ अर्ब रुपैयाँ रहनेछ।

    मध्य कालीगण्डकी जलविद्युत आयोजनाको निर्माण सन् २०२४ बाट सुरुभई ४ वर्ष भित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

    नेपाल विद्युत प्रधिकरणसँग विद्युत खरिदबिक्री सम्झौता हुँदा हिउँदयामको विद्युत खरिद दर ८.४० रुपैयाँ र वर्षायामको दर ४.८० रुपैयाँ कायम भएका आधारमा आयोजनाबाट हिउँदमा १३० गिगावाट बाट १ अर्ब ९ करोड रुपैयाँ आम्दानी हुने र वर्षामा २७७ गिगावाट बाट १ अर्व ३३ करोड रुपैयाँ आम्दानी भई वार्षिक कुल ४०७ गिगावाट विद्युत उत्पादनबाट २ अर्ब ४२ करोड रुपैयाँ आम्दानी हुने छ। हालसम्म आयोजना निर्माण तयारीका कामहरु भइरहेका छन्।

    प्रतिकृया दिनुहोस्