
काठमाडौं । राष्ट्रिय सहकारी महासंघले दक्ष युवा मानवशक्ति आकर्षण गर्दै सहकारीमार्फत बेरोजगारी न्युनिकरणमा योगदान दिने उद्देश्यले सहकारी रोजगार मेला आयोजना गर्ने भएको छ । असार ७ गतेदेखि ९ गतेसम्म हुने प्रथम सहकारी रोजगार मेला महासंघ परिसर पुल्चोकमा सञ्चालन हुनेछ ।
महासंघका अनुसार रोजगारीको खोजीमा रहेका युवा तथा विद्यार्थीहरुलाई सहकारी क्षेत्रमा उपलब्ध रोजगारका अवसरहरुबारे जानकारी गराउने, दक्ष जनशक्तिको खोजीमा रहेका सहकारी संघ संस्थाहरुलाई जनशक्ति पहिचान गर्ने अवसर प्रदान गर्ने, वृत्ति विकाससम्बन्धी परामर्श सेवा उपलब्ध गराउने, रोजगारीका लागि सहजीकरण गर्ने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको छ ।
५ हजार बढी अवलोकनकर्ताहरु सहभागी हुने मेलामा ५० बढी सहकारी संघ संस्थाहरुको सहभागीता रहने दाबी महासंघले गरेको छ । यसैबीच, महासंघले मेलामा सहभागी भै भव्यताका साथ सफल पार्न सबैलाई आग्रह समेत गरेको छ ।