News Portal

  • सस्तो ब्याजमा ऋण दिन्छु भन्दा पनि ग्राहक नआउँदा तनावमा बैंकर

    आर्थीकसंसार संवाददाता२२ चैत, २०८०
    ३६ पटक
    २२ चैत, २०८०

    काठमाडौं । विगतमा बैंकको ब्याजदर उच्च भयो भन्दै उद्योगी व्यवसायीले आन्दोलन गरे । आर्थिक क्षेत्रका हरेक कार्यक्रममा उच्च ब्याजदरका कारण व्यवसाय विस्तार तथा कर्जा लिन नसकेको गुनासो सुनिन्थ्यो । कर्जाको ब्याजदर १७/१८ प्रतिशतसम्म पुग्यो । जबकी बैंकको औसत आधार दर १३ प्रतिशतभन्दा बढी थियो ।

    बैंकको ब्याजदर उच्च भएका कारण कर्जा प्रवाह ठप्प भयो । अर्थतन्त्र नै चलायमान हुन नसकेको आरोप बैंकहरूले खेप्नु पर्याे । बैंकको ब्याजदर बढी भएरै कर्जाको माग घटेको होइन भनेर नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बारम्बार भन्दै आए । तर, उनी लगायतका बैंकरको कुरा कसैले सुनेनन् । बैंकरलाई गाली गर्न छाडेनन् । तर, यतिबेला बैंक तथा वित्तीय संस्थाको ब्याजदर एकल अंकमा झरिसकेको छ । फागुनसम्म आधार दर औसत ८.७७ प्रतिशत रहेको तथ्याङ्क नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ ।

    ‘एक/डेढ वर्षअघिसम्म उच्च ब्याजदर भयो भन्ने गुनासो मात्रै सनिन्थ्यो । हरेक कार्यक्रम, हरेक छलफलमा उच्च ब्याजदरको प्रश्नको फेस गरिरहे,’ बैंकर्स संघको नियमित पत्रकार सम्मेलनमा बोल्दै केसीले भने, ‘अहिले ब्याजदर धेरै घटिसकेको छ । आधार दर नै ८.७७ प्रतिशतमा झरेको छ । यसले बैंकको कर्जा बढ्ने अपेक्षा थियो । कर्जा बढाउन सहयोग गर्छ भन्ने आशा थियो । तर, त्यो अपेक्षा अनुसार हुन सकिरहेको छैन । बैंकहरूमा ५ खर्ब बढी रकम थुप्रिएको छ ।’

    उनका अनुसार ब्याजदर घट्दा कर्जा लगानी बढ्छ भन्ने तर्कले काम गरेन । ब्याजदर एकल अंकमा झरेको, ५ खर्ब बढी लगानीयोग्य रकम भएको र कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८१ प्रतिशत हुँदा पनि कर्जाको माग नआएको उनको भनाइ छ । ‘जुन लेभमा कर्जा बढ्ने अपेक्षा गरिएको थियो । त्यो हुन सकेको छैन । अर्थतन्त्र र बैंकका लागि चिन्ताको विषय हो,’ उनले भने ।

    राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरण श्रेष्ठ उच्च ब्याजदर हुँदा कर्जाको मागमा संकुचन नआउने बताउँछन् । बैंकको ब्याजदर बाहेकका अन्य तत्वले पनि कर्जाको मागमा संकुचन आएको उनको भनाइ छ ।

    ‘विगतमा बैंकको ब्याजदर छिटोछिटो बढ्यो । ब्याजदरका कारण कर्जा प्रवाह नभएको आम निष्कर्श थियो । तर, हामीले उच्च ब्याजदरका कारण कर्जा घटेको होइन, व्यवसाय सञ्चालन गर्दा वभिन्न कम्पोनेन्ट हुन्छन्, जसमध्ये ब्याजदर पनि एउटा सानो हो भन्दै आयौं,’ उनले भने, ‘अहिले एकल अंकमा ब्याजदर हुँदा पनि कर्जाको माग छैन । त्यसकारण कर्जा प्रवाहमा अन्य तत्व पनि जोडिएका हुन्छन् भन्ने पुष्टि पनि गरेको छ ।’

    पुँजीगत खर्च नहुनु, निर्माण कार्य ठप्प वा व्यवसायीहरूले भुक्तानी नपाउँदा कर्जाको माग घटेको उनको तर्क छ । साथै, व्यवसायीको मनोबल नबढेका कारण पनि कर्जाको माग घटेको उनले बताए ।

    नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८०÷८१ को फागुनसम्म बैंकहरूको कर्जा प्रवाह ४.२ प्रतिशत बढेर १ खर्ब ९९ अर्ब ५० करोड रुपैयाँ लगानी गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा १ खर्ब २८ अर्ब १८ करोड रुपैयाँ मात्रै कर्जा प्रवाह गरेका थिए ।

    एनएमबि बैंकका सीईओ समेत रहेका केसी आर्थिक चलायमान हुने क्षेत्र हाउजिङ, अटो लगायतको कर्जाको ब्याजदर घटाउँदा समेत माग नआएको बताउँछन् । ‘कर्जा बढाउन ब्याजदर निरन्तर घटाइरहेका छौं । समग्र अर्थतन्त्र चलायमान होस् भनेर हाउजिङ, इलेक्ट्रिकल भेइकल लगायतको कर्जाको दर एकल अंकमा झारिसकेका छौं,’ उनले भने ।

    उनका अनुसार विदेशमा ब्याजदर नघटेपनि बढ्ने ट्रेण्ड भने रोकिएको छ । अमेरिकमा ५.५ प्रतिशत, यूरोपमा ४ प्रतिशत, इङग्ल्याण्डमा ५ प्रतिशत र भारतमा साढे ६ प्रतिशत छ । यी देशमा अब ब्याजदर विस्तारै घट्नेक्रम रहेकाले नेपालमा पनि थप घटाउन मद्दत पुग्ने उनले बताए । ‘विश्वको तुलनामा नेपालमा धेरै घटिसकेको छ । विश्वमा ब्याजदर घट्दा नेपालमा पनि थप घट्न मद्दत पुग्छ,’ उनले भने ।

    प्रतिकृया दिनुहोस्