News Portal

  • कोहलपुरका यूवाको हत्या गरेर बीमा कम्पनीबाट दाबी रकम लिने पाँचजना दोषी ठहर

    आर्थीकसंसार संवाददाता
    ५७ पटक

    काठमाडौं । बाँके कोहलपुरका यूवा सर्जन विकको हत्या गरेर बीमा रकम कुम्ल्याउने योजनामा संलग्न जीवन बीमा अभिकर्ता सहित पाँचजनालाई विशेष अदालतले सम्पत्ती शुद्धिकरणको मुद्दामा दोषी ठहर गरेको छ।

    आइतबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्य तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले गरेको फैसलामा अर्का एकजनालाई मतियार ठहर गरिएको छ। विशेष अदालतका अनुसार सपना मल्ल, सरदार अहमद खाँ, दीपक केसी, छवि कुमारी खत्री, टोपबहादुर राना क्षेत्री र सञ्जीव अर्याललाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता भएको थियो। खत्रीको हकमा उनले लिएको रकम फिर्ता गर्नुपर्ने फैसला भएको छ भने बाँकी पाँचजनामाथि सम्पत्ती शुद्धिकरणको कसुर कायम भएको छ।

    प्रतिवादीहरूमाथि सजाय निर्धारण गर्न १३ चैतको पेसी तोकिएको उपरजिस्ट्रार धनबहादुर कार्कीले जानकारी दिएका छन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गत असोज २३ गते मुद्दा दायर गरेकोमा विशेष अदालतले कसुर पुष्टि हुने फैसला गरेको हो। प्रतिवादीहरूमाथि जिल्ला अदालत काठमाडौंमा किर्ते तथा ठगी मुद्दा चलिरहेको छ।

    यस्तो थियो घटनाः

    बाँकेको कोहलपुर नगरपालिका– ११ का २१ वर्षीय सर्जन विकको नक्कली बिहे दर्ता गराएर उनको नाममा दुर्घटना लाभ सुविधासहितको १ करोड रुपैयाँ बीमाङ्कको जीवन बीमा गरिएको थियो । २०७८ वैशाख २ गते राति ११ बजे टिपरमा बालुवा लोड गराउन मोटरसाइकलमा जाँदै गर्दा बैजनाथ गाउँपालिका–६ लालपुरको सडकमा भे१ख २४९१ नम्बरको बसले ठक्कर दिंदा गम्भीर घाइते भएका उनलाई कोहलपुर मेडिकल कलेज पुर्याउँदा उनी मृत घोषित गरिएका थिए ।

    प्रतिवादीमध्येका सञ्जीव अर्याल रिलायन्स लाइफ इन्स्योरेन्सका कर्मचारी थिए। उनकै योजनामा डिपेन्डेन्ट भिसामा अस्ट्रेलिया जाने योजनाका साथ सपना मल्लको सर्जन विकसँग फर्जी विवाह दर्ता गराइएको थियो । नक्कली विवाह दर्ता भएकै दिन अर्यालले खाँ मार्फत् विकको जीवन बीमासमेत गराई दिएका थिए। विकको बीमा गर्दा अभिकर्ताका रुपमा सरदार अहमद खाँले काम गरेका थिए । प्रहरी अनुसन्धानका अनुसार अर्यालको योजनामा विकको हत्या भएको थियो ।

    घटनापछि बाँके प्रहरीले बस चालक टोपबहादुर क्षेत्रीविरुद्ध सवारी ज्यान अन्तर्गत मुद्दा दर्ता गरेको थियो। जिल्ला अदालत बाँकेले २०७८ माघ २५ गते मुद्दाको फैसला गर्दै चालक क्षेत्रीलाई ३० दिन कैद र २ हजार जरिवानाको सजाय सुनाएको थियो। यस प्रकरणमा मोटरसाइकल धनी सरदार अहमद खाँले सफाई पाएका थिए।

    जीवन बीमा कम्पनीबाट मल्लले सार्वजनिक समारोहकाबीच दुई करोड पचास लाख रुपैयाँ रकम भुक्तानी लिएपछि बल्ल विकको परिवारले उनको हत्या भएको भेउ पाएको थियो । मृतकको आफन्तजनले विक अविवाहित रहेको तथ्य प्रकाशमा ल्याएपछि नेपाल पुनर्बीमा कम्पनीको निवेदनको आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले हत्याबारे अनुसन्धान गरेको थियो । अनुसन्धानको प्रारम्भिक चरणमै प्रहरीले हत्याको प्रमाण जुटाउँदै हत्यामा संलग्न ६ जनालाई सार्वजनिक गरेको थियो ।कोहलपुर नगरपालिका वडा २ की २१ वर्षीया सपना मल्ल, वडा १५ का ३२ वर्षीय सरदार अहमद खाँ, वडा ११ का ३८ वर्षीय दीपक केसी, वडा १ की २१ वर्षीया आरती भनिने ललिता सापकोटा, स्याङ्जाको वालिङ नगरपालिका– ६ घर भई कोहलपुर नगरपालिका– ११ बस्दै आएका ३१ वर्षीय सञ्जीव अर्याल र बाँकेको बैजनाथ गाउँपालिका– ८ का ३३ वर्षीय टोपबहादुर राना क्षेत्रीलाई अभियुक्तका रुपमा प्रहरीले सार्वजनिक गरेको थियो।

    २०७७ फागुन २८ गते रिलायन्स लाइफ इन्स्योरेन्समा सर्जन बिकको नक्कली आय श्रोत र नक्कली विवाह दर्ता प्रमाण पत्रको आधारमा २ करोड ५० लाख रुपैयाँको जीवन बीमा गरिएको थियो। जीवन बीमाशुल्कवापतको पहिलो किस्ता रकम ५ लाख ४० हजार रुपैयाँ पनि सञ्जीव अर्यालले भुक्तानि गरिदिएका थिए ।

    बीमा कम्पनीले २०७८ साउन २४ गते सपनालाई २ करोड ५० लाखको चेक भुक्तानी गरेको थियो। उनले उक्त चेक कामना सेवा विकास बैंकमा जम्मा गरेकी थिइन्। बीमा कम्पनीबाट पाएको रकम सपना, सञ्जीव र सञ्जीवका साथी दीपक केसीले आपसमा बाँडे। बाँडफाँड भएकोमध्ये सञ्जीवले ८० लाख ३६ हजार, दीपकले ६० लाख, सपनाले ८६ लाख ८९ हजार र सपनाकी आमा छवि कुमारी खत्रीले १७ लाख ४६ हजार रुपैयाँ बाँडेर लिएको प्रहरीले पत्रकार सम्मेलनका क्रममा जानकारी गराएको थियो।

    प्रतिकृया दिनुहोस्