News Portal

  • हिमालयन रिले पेस गर्‍यो पुँजी वृद्धिको योजना, एफपीओबारे सोच्दै नेपाल रि

    आर्थीकसंसार संवाददाता९ फागुन, २०८०
    ७७ पटक
    ९ फागुन, २०८०

    काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले हकप्रद सेयर निष्काशन गरेर पुँजी वृद्धि गर्ने योजना नेपाल बीमा प्राधिकरणलाई पेस गरेको छ । प्राधिकरण स्रोतका अनुसार हिमालयन रिइन्स्योरेन्सले ८० प्रतिशत हकप्रद सेयर निष्काशन गरेर २० अर्ब पुँजी पुर्याउने योजना पेस गरेको हो ।

    हिमालयन रिको चुक्ता पुँजी १० अर्ब रुपैयाँ छ । चुक्ता पुँजीको कम्पनीले ४ प्रतिशत अर्थात् ४० करोड रुपैयाँ बराबरको बोनस सेयर प्रस्ताव गरेको छ । बोनस सेयर वितरण पश्चात् कम्पनीको पुँजी १० अर्ब ४० करोड रुपैयाँ पुग्नेछ ।

    त्यसपछि कम्पनीले १० अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजीको ८० प्रतिशत अर्थात् १० सेयर बराबर ८ सेयर अनुपातमा ८ अर्ब ३२ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कानश गर्नेछ । हकप्रद सेयर निष्काशन पश्चात् कम्पनीको पुँजी १८ अर्ब ७२ करोड रपैयाँ पुग्नेछ । बाँकी रहेको पुँजी बोनस सेयर वितरण गरेर २० अर्ब पुर्याउने योजना कम्पनीको रहेको प्राधिकरण स्रोतको छ ।

    नेपाल बीमा प्राधिकरणले गत माघ १७ गते पुनर्बीमा कम्पनीहरूलाई २० अर्ब पुँजी पुर्याउन योजना पेस गर्न १५ दिनको समय दिएको थियो । तर, प्राधिकरणमा योजना पेस नगरी पुँजी वृद्धिको एजेण्डा सार्वजनिक गरेको भन्दै हिमालयन रिलाई बीमा प्राधिकरणले स्पष्टीकरण सोधेको थियो । हिमालयन रिले आफूबाट गल्ति भएको र माफी मागेको प्राधिकरण स्रोतको भनाइ छ ।

    हिमालयन रिले आइतबार मात्रै योजना पेस गरेको हो भने नेपाल रिइन्स्योरेन्सले भने थप १५ दिनको समय मागेको छ । नेपाल रिले योजना पेस गरेपछि मात्रै पुँजी वृद्धिका लागि कुन विधिलाई स्वीकृति दिने भनेर निर्णय गर्ने प्राधिकरण स्रोतको भनाइ छ ।

    नेपाल रिको हालको चुक्ता पुँजी १२ अर्ब ८१ करोड ३५ लाख ४४ हजार रुपैयाँ छ । २० अर्ब पुँजी पुर्याउन कम्पनीले ७ अर्ब १८ करोड ६४ लाख रुपैयाँ थप गर्नु पर्ने देखिन्छ । नेपाल पुनर्बीमा कम्पनीमा सरकारको ४४ प्रतिशत, सर्वसाधारणको १६ प्रतिशत र बाँकी बीमा कम्पनी तथा संगठित संस्थाहरूको लगानी छ । कम्पनी स्रोतका अनुसार २० अर्ब पुँजी पुर्याउन नेपाल रिले थप सार्वजनिक निष्काशन (एफपीओ)को योजना राख्ने विषयमा पनि छलफल भइरहेकाे छ ।

    ‘गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा बोनस सेयर वितरण गरेर पुँजी बढाउन सक्छ, नेपाल रिलाई पुँजी वृद्धिका लागि टाउको दुखाइ नै छैन, सिधैं एफपीओ जारी गरेर २० अर्ब पुर्याउन सक्छ,’ स्रोतले भन्यो ।

    प्रतिकृया दिनुहोस्